Main Option : Watch live cricket,football,FM,T.V and download music

Friday 22 July 2011

नेपाली खेलाडीमा आर्सेनल र टोटेनह्यामको चासो

युवा फुटबलर रोहित चन्द नेपाली फुटबल जगतलाई आश्चर्यजनक उत्साह प्रदान गर्दै युरोपेली सञ्चारमाध्यममा छाएका छन्। इङ्लिस प्रिमियर लिगका दुई महारथी आर्सेनल र टोटेनह्यामले रोहित भित्र्याउने इच्छा देखाएपछि केही युरोपेली सञ्चारमाध्यमले बहुचर्चित सरुवा बजारमा उनीलाई पनि स्थान दिएका छन्।

खेलकुदसम्बन्धी एक वेबसाइट टक स्पोर्टस डट सिओ डट युकेले बायर्न म्युनिखका फ्रान्सेली राष्ट्रिय स्टार फ्रान्क रिबेरीको सरुवा चर्चासँगै जोडेर रोहितको सम्भावित सरुवा समाचार दिएको छ। आर्सेनलको आधिकारिक वेबसाइट द गनिङहककमका अनुसार क्लब प्रतिनिधि विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत जोर्डनविरुद्धको पहिलो लेग हेर्न अम्मान रंगशाला जाने जनाइएको छ। वेबसाइटले रिबेरी र रोहित क्लबको लक्ष्यमा रहेको जनाएको छ।

बिबिसीले पनि राष्ट्रिय टोलीका रक्षक रोहितको सरुवा समाचारलाई टकस्पोर्टबाट साभार गरेको छ। क्लबका प्रतिनिधि जोर्डनमा रोहितबाट प्रभावित भएमा नेपाली फुटबल इङ्लिस प्रिमियर लिगलाई व्यावसायिक खेलाडी दिने दक्षिण एसियामै पहिलो टोली हुनेछ। जोर्डनसँग शनिबार विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको पहिलो लेग खेल्न नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गरिसकेको छ।

टोटेनह्यामका पूर्वकप्तान राष्ट्रिय टोलीका प्रशिक्षक ग्राहम रोबर्टसले पनि बारम्बार रोहित इङ्ल्यान्डमा गएर फुटबल खेल्नसक्ने संकेत गर्दै आएका थिए। बेलायती वेबसाइटहरूको समाचारलाई पुष्टि गर्दै रोबर्टसले बिहीबार नागरिकसँग भने, 'दुवै क्लबले रोहितप्रति चासो राखेका छन्। रोहित र अन्य नेपाली खेलाडीको प्रदर्शन हेर्न दुबै क्लबका स्काउटहरू जोर्डन आउने पक्का भैसकेको छ। नेपाली रक्षापंक्तिमा रोहितसहित विश्वस्तरका खेलाडी छन्, त्यसैले म आशावादी छु,' इङ्ल्यान्डका पूर्वखेलाडी रोबर्टसले भने। स्काउटहरूले खेलाडीको खोजी गर्ने काम गर्छन्। रोबर्टसलाई उद्धृत गर्दै टक स्पोर्टले १९ वर्षे रोहितलाई एसियाली फुटबलमै प्रचुर सम्भावना बोकेका रक्षकका रूपमा व्याख्या गरेको छ।

रोबर्टसले बारम्बार रोहितलाई अन्तर्राष्ट्रिय स्तरको खेलाडीको संज्ञा दिँदै आएका छन्। उक्त वेबसाइटसँग रोबर्टसले भनेका छन्, 'मैले अहिलेसम्म प्रशिक्षण दिएकामध्ये रोहित सबैभन्दा उत्कृष्ट सेन्टर हाफ हुन्। उनीसँग पर्याप्त खुबी छ र उनी माथिल्लो स्तरको फुटबल खेल्न सक्छन्।'

एनआरटीका प्रशिक्षक राजु शाक्य रोहितलाई फुटबलमा अपार लगाव भएको खेलाडी भन्छन्। 'फुटबलमा सबैभन्दा चाहिने चिज नै लगाव हो, त्यो रोहितमा छ, टेक्निकल्ली, ट्याक्टीकल्ली ऊ निकै राम्रो छ,' एन्फा एकेडेमीमा लामो समय रोहितलाई प्रशिक्षण दिएका उनले भने, 'हामीले त कल्पनै गर्न नसकिने कुरा हो, यदि उनी छनोट भए भने हरेक नेपालीलाई गर्व हुनेछ।'

दुई वर्षअघि मच्छिन्द्र क्लबबाट नेपालको ए डिभिजन खेलेलगत्तै अर्को वर्ष भारतीय क्लब हिन्दुस्तान एरोनोटिक्स लिमिटेड (एचएएल) मा अनुबन्धित रोहित अहिले राष्ट्रिय टोलीको पहिलो रोजाइका खेलाडी हुन्। त्यतिबेला एचएएलले रोहितलाई मासिक १ लाख २८ हजार रुपैयाँमा अनुबन्ध गरेको थियो। उनले सन् २००९ मा प्यालेस्टाइनविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट 'डेब्यु' गरेका थिए। राष्ट्रिय टोलीबाट १२ खेल खेलेका एन्फा एकेडेमीका उत्पादन उनले यु-१७ र यु-१९ समेत खेलिसकेका छन्।

आई लिगमा गत सिजनको अन्तिम खेलमा विजयी हुँदै एचएएल रेलिगेसनबाट जोगिएको थियो। राष्ट्रिय टोलीको जिम्मेवारीका लागि गत चैतमा नेपाल आउँदा छुटेको खेलबाहेक एचएएलका सबै खेल रोहितले परिवर्तन नभई पूरा समय खेलका थिए।

नेपाली खेलाडीले इङ्ल्यान्डमा खेल्ने चर्चा यो पहिलो होइन। दुई वर्षअघि राष्ट्रिय टोलीका स्ट्राइकर अनिल गुरुङ इङ्ल्यान्डको छैटौं डिभिजनको क्लब वोकिङमा ट्रयालका गए पनि वर्क परमिट नमिलेकाले फर्केका थिए।

No comments:

Post a Comment