के तपाईँ सार्वजनिकस्थलमा धूमपान गरिरहनुभएको छ ? अथवा सार्वजनिकस्थलमा फुटकररूपमा चुरोट, बिँडीजस्ता धूमपानजन्य वस्तु बिक्रीवितरण गरिरहनुभएको छ ? छ भने अबदेखि होस पुर्याउनुहोला । यी दुई काम गरिरहेको भेट्टाइएमा उसले रु. १०० देखि रु. एक लाखसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ ।
नेपालमा पहिलोपटक सार्वजनिकस्थलमा धूमपान गर्न र बिक्रीवितरण गर्न नपाइने ऐन यही साउन २२ गते आइतबारदेखि लागु हुँदैछ । सार्वजनिकस्थलहरूमा सरकारी निकायहरू, संंस्थान, कार्यालय, शिक्षण संंस्था, पुस्तकालय, विमानस्थल, सार्वजनिक शौचालय, चलचित्र घर, सांस्कृतिक केन्द्र, होटल, भोजनालय, चमेनागृह, छात्र तथा छात्रवास, रङ्गशाला, सार्वजनिक सवारी प्रतीक्षालय आदि स्थान पर्दछन् ।
व्यवस्थापिका-संसदले २०६७ चैत २८ गते सूर्ती नियन्त्रण तथा नियमन ऐन पारित गरेको थियो भने डा. राष्ट्रपति रामवरण यादवले त्यसमा २०६८ वैशाख १६ गते लालमोहर लगाउनुभएको थियो । यो ऐन कार्यान्वयन भएपछि सार्वजनिकस्थलहरूमा धूमपान र बिक्रीवितरणमा पूर्ण बन्देज लाग्नेछ । नेपालमा प्रत्येक दिन सुर्ती सेवनका कारण ४४ जनाले अनाहकमा आˆनो ज्यान गुमाउनु परिरहेको छ । सुर्ती सेवनकै कारण उत्पन्न हुने रोगका उपचार गर्नका लागि बर्सेनि रु. १६ अर्ब खर्च भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ऐन मुताबिक अब सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रायोजन र सुर्तीजन्य सूचना प्रवाह कुनै पनि सञ्चारमाध्यमबाट गर्न पाइने छैन । यदि सुर्तीजन्य पदार्थको प्रवर्द्धन हुने गरी विज्ञापन वा प्रायोजन गरेमा एक लाख रूपैयाँसम्म जरिवाना हुनसक्छ ।
त्यस्तै, १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने, सुर्तीजन्य पदार्थप्रति आकर्षण हुनेगरी बिक्रीस्थल, सजावट तथा पदार्थको प्रदर्शन गर्न नपाइने ऐनमा व्यवस्था छ । सुर्तीजन्य कम्पनीले २०६८ कात्तिक १८ गतेदेखि सुर्तीको बट्टा अथवा पाकेटमा ७५ प्रतिशत चेतावनीमूलक सन्देश तथा चित्र अनिवार्य राख्नुपर्ने प्रावधान ऐनमा रहेको छ । यस्तो चित्र वा सन्देश नराखेमा रु. ५० हजारसम्म जरिवाना हुने प्रावधान ऐनमा छ । धूमपान गर्नेलाई भन्दा गर्नेबाट ˆयाँकिने धूवाँबाट अर्कोलाई असर पुग्ने हुनाले स्वतन्त्रपूर्वक बाँच्न पाउने र स्वस्थ रहन पाउने वैयक्तिक अधिकारलाई सुनिश्चित गर्न सरकारले सो ऐनलाई कार्यान्वयनमा ल्याएको हो ।
सभामुख सुवास नेम्बाङले प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रद्वारा ऐनबारे जानकारी दिन आयोजित जागरण कार्यक्रमको शुभारम्भ गर्नुभयो । ऐनको प्रभावकारी कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने एवम् जनताको स्वास्थ्य अधिकार सुनिश्चित गराउने उद्देश्यले आयोजित जनजागरण अभियान विभिन्न ५२ जिल्लामा सञ्चालन गरिनेछ ।
जागरण अभियानले सुर्ती नियन्त्रण तथा नियमन कानुनबारे लेखिएका पर्चा सर्वसाधारण जनताको पहुँचसम्म पुर्याउनेछ । राजधानीमा एकैदिनमा २० हजार पर्चा वितरण गरिने कार्यक्रम रहेको छ ।
विश्वका १८४ देशले सुर्ती नियन्त्रण तथा नियमन ऐनमा हस्ताक्षर गरी १७२ देशले यसलाई अनुमोदन गरी कानुन कार्यान्वयनमा ल्याइसकेका छन् । धूमपान गर्नेमध्ये ११ प्रतिशतलाई मुटुरोग, ५३ प्रतिशतलाई श्वासप्रश्वासको समस्या, २८ प्रतिशतलाई क्यान्सर र पाँच प्रतिशतलाई गिजासम्बन्धी रोग लाग्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
हाल नेपालका चुरोट उद्योगहरूले वाषिर्क सात अर्ब ५० करोड खिल्ली चुरोट तयार गर्ने गर्दछन् । गत आर्थिक वर्षमा चुरोटबाट चार अर्ब ५० करोड राजस्व सङकलन भएको थियो । रासस
No comments:
Post a Comment