Main Option : Watch live cricket,football,FM,T.V and download music

Thursday, 22 December 2011

प्रजनन उमेरका महिलाहरुमा आत्महत्याको दर उच्च

नेपालमा कार्यरत अन्तर्राष्ट्रिय निकायहरुको एक अध्ययनअनुसार प्रजनन उमेरका महिलाहरुमा आत्महत्याको दर उच्च रहेको छ । राष्ट्रसंघीय जनसंख्या कोष यूनएफपीए र अन्तर्राष्ट्रिय विकास विभाग डीएफएआइडीले संयुक्त रुपमा गरेको अध्ययनमा यस्तो देखिएको हो ।
‘१५ वर्षदेखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको मुख्य कारण आत्महत्या रहेको अध्ययनले देखाएको छ’ डीएफआइडीकी कार्यक्रम अधिकृत रेनुका गुरुङले भन्नुभयो । ‘नेपालका महिलामा आत्महत्या’ शीर्षकमा तयार पारिएको प्रतिवेदनका अनुसार बढ्दै गएको आत्महत्याको समस्या समाधानका लागि हरेक घरदेखि लिएर राष्ट्रिय तहसम्म प्रभावकारी काम गर्नुपर्ने उल्लेख छ ।
कैलाली, रुपन्देही, ओखलढुंगा, सुर्खेत, जुम्ला, बागलुङ, रसुवा र सर्लाही जिल्लामा गरिएको अध्ययनमा सन् १९९८ देखि २००८/०९ को अवधिमा महिलामा आत्महत्याको दर बढेको देखिएको छ । सन् १९९८ मा हरेक एक लाखमा २२ जना महिलाले आत्महत्या गर्ने गरेकोमा सन् २००८/०९ मा त्यो संख्या २८ पुगेको छ ।
यो अवधिमा अध्ययन गरिएका जिल्लामा १४ सय ९६ जनाले आत्महत्या गरेका छन् । ‘महिलामा आत्महत्याको मुख्य कारण पारिवारिक सम्बन्ध नै मुख्य रहेको देखिएको छ’ अध्ययनमा उल्लेख छ । अध्ययन अनुसार श्रीमानसँगको सम्बन्ध बिगि्रएका कारण आत्महत्या गर्ने महिला दुई तिहाइ छन् ।
अध्ययनको मुख्य अंशः
· विश्वमा हरेक वर्ष १० लाख मानिसले आत्महत्या गर्छन् ।
· महिलाको हुने मृत्युमा आत्महत्याको कारण १६ प्रतिशत छ ।
· पछिल्लो १० वर्षमा आत्महत्याको दर ६ प्रतिशतले बढेको छ ।
· आत्महत्या गर्नेले सबैभन्दा बढी विषको प्रयोग गर्छन् ।
· १० देखि २४ वर्ष उमेर समूहका महिलामा पनि आत्महत्या दर उच्च छ ।
· पुरुषमा चाहिं ३५ वर्ष उमेरपछि आत्महत्या गर्ने धेरै छन् ।
त्यही उमेरमै किन गर्छन आत्महत्या ?
मनोविज्ञहरुका अनुसार प्रजनन् उमेर सम्वेदनशील अवस्था हो । १४/१५ वर्ष उमेर भएपछि किशोरीहरुमा शारिरीक तथा मानसिक परिवर्तन तीव्र रुपमा हुन्छ । ‘यसबेला परिवार, समाज र विद्यालयले ध्यान दिन सकेन भने किशोरीहरुमा नकारात्मक असर पर्छ’ मनोविज्ञ चीरञ्जीवि शर्माले भन्नुभयो -’किशोरीहरुले पनि आफ्नो शारिरीक तथा मानसिक परिवर्तनबारे आमा, दिदी या नजिकको आफन्तसित सोधीखोजी गर्नुपर्छ ।’
पारिवारिक तथा सामाजिक कारणले नै प्रजनन् उमेरमा महिलाको आत्महत्यादर बढेको हुनसक्ने उहाँले बताउनुभयो । ‘चाँडो उमेरमा गर्भवती हुँदा शारिरीक, आर्थिक, सामाजिक लगायतका आत्मसन्तुष्टी प्राप्त हुन नसक्दा यो निराशामा परिणत हुन्छ र अन्त्यमा आत्महत्याको अवस्थामा पुर्याउँछ’ शर्माले भन्नुभयो । यस्तै विवाह नहुँदै गर्भवती भएमा र त्योबेला केटाले छोडेमा पनि केटीहरु आत्महत्या गर्न बाध्य हुने गरेका उहाँले बताउनुभयो ।
घरपरिवारमा निराशा, सामाजिक अवहेलना, घरेलु हिंसा, बेचबिखन लगायतका कारणले पनि यो उमेरमा महिलाहरुले आत्महत्या गर्ने गरेको अध्ययनले देखाएको छ । ‘सबैभन्दा ठूलो कुरा जनचेतना र उचित वातावरण तथा सम्मान हो’ मनोविज्ञ शर्माले भन्नुभयो -’महिलाको आत्महत्यादर हटाउन उनीहरुलाई पर्ने मनोवैज्ञानिक असरको अन्त्य गर्नुपर्छ । त्यसको लागि घरपरिवार र समाज नै जिम्मेवार बन्नुपर्छ ।’

No comments:

Post a Comment