Main Option : Watch live cricket,football,FM,T.V and download music

Tuesday, 19 June 2012

विश्वविद्यालय छोडेर विश्व हल्लाउनेहरु

भनिन्छ, विश्वविद्यालयमा राम्रो गर्नेहरू एउटा सुखी जीवन बाँच्न सफल हुन्छन् । त्यसो त सानैदेखि आमविद्यार्थीको सोचाइ पनि विश्वविद्यालयमा गएर राम्रो गर्ने र भविष्यलाई सुन्दर बनाउने हुन्छ । सफल जीवन चाहिएको छ भने विश्वविद्यालयको अध्ययनलाई गम्भीर रूपमा लिँदै केही गर भन्ने सल्लाह पनि व्यापकै पाइन्छ । त्यसो त, नेपाली समाजमा एउटा परीक्षामा असफल हुनेबित्तिकै आत्महत्या गर्ने प्रचलन पनि बढ्दो छ । तर, विश्वमा यस्ता सफल व्यक्ति पनि छन् जसले विश्वविद्यालय छाडे तर विश्व नै हल्लाएर देखाइदिए । विश्वकै धनीको सूचीमा रहेका बिल गेट्स बीचैमा कलेज छाडेर सफल भएका व्यक्तिमध्ये एक हुन् । विश्वकै प्रसिद्ध विश्वविद्यालय हार्वर्डमा सन् १९७३ मा पढाइ सुरु गरेका गेट्सले दुई वर्षपछि नै कलेज छाडे र माइक्रोसफ्ट कम्पनीको विस्तारमा लागे । उनलाई साथ दिएका थिए उनका साथी पाउल एलेनले । कलेज बीचमै छाडे पनि उनलाई हार्वर्डले नै कालान्तरमा सम्मान दियो, सबैभन्दा सफल मानिस । विगत एक दशकदेखि गेट्स विश्वका धनी मानिसको सूचीमा परिरहेका छन् । एक सामान्य शिक्षकका छोरा गेट्सले माइक्रोसफ्टको स्थापना गर्ने सोचका कारण विश्वविद्यालय छोडेका थिए । ३० वर्षपछि जब उनलाई हार्वर्डले नै मानार्थ विद्यावारिधिको उपाधि दियो, उनले भनेका थिए, 'केही गरौँ भन्ने हुटहुटी भएकाले मैले विश्वविद्यालय छाडेँ, यदि ३० वर्ष अगाडिको ओरिएन्टेसन कक्षामा म हुन्थेँ भने तपाईंहरूमध्ये कमै मात्र यहाँ हुनुहुन्थ्यो होला ।' बिल गेट्सको कम्पनी माइक्रोसफ्टका कारण नै हामीले यति सहज रूपमा कम्प्युटर चलाउन पाएका हौँ । बिल गेट्सजस्तै विश्वविद्यालय बीचैमा छाडेर विश्वमा नै प्रभुत्व जमाउने अर्का व्यक्ति हुन् स्टिभ जब्स । जब्सले भने अर्को प्रसिद्ध विश्वविद्यालय रिड्स भर्ना भएको ६ महिनामा नै अध्ययन छाडेका थिए । अहिले नेपाली बजारमा पनि व्यापक चर्चामा रहेको आइफोन जब्सकै मिहिनेत र लगावका कारण आएको हो । उनलाई पछिल्लो समय विश्वले नै प्रविधिका देवताका रूपमा लिन थालेको थियो । केही समयअगाडि उनको मृत्युपश्चात निस्किएको जीवनी 'स्टिभ जब्स'ले पनि विश्वमै अधिक बिक्री हुने पुस्तकका रूपमा आफूलाई दर्ता गरायो । उनले स्थापना गरेको एप्पल कम्पनी पनि विश्वका धनी कम्पनीको सूचीमा सूचीकृत भयो । आइफोनपछि बिस्तारै उनले ल्याएका आइपड, म्याकका विभिन्न उत्पादनले पनि विश्वमा तहल्का नै मच्चाइदिए । उनले वषार्ंैपछि स्ट्यानफोर्ड विश्वविद्यालयमा भनेका थिए, 'मेरो आर्थिक स्थिति कमजोर भएकाले मैले रिड्स कलेज छाडेँ तर यदि कलेज नछाडेको भए पक्कै पनि आज यहाँ तपाईंलाई सम्बोधन गरिरहेको हुँदैनथेँ ।' हुन पनि उनले कलेज नछाडेको भए, हामीले आज आइफोन, म्याक वा आइपडमा रमाइरहन पाउँदैनथ्यौँ होला । के तपाईंहरू सधैँ आफ्नो फेसबुक एकाउन्ट प्रयोग गर्नुहुन्छ ? कहिलेकाहीँ आफ्ना भावना फेसबुकमार्फत आफ्ना साथीहरूसम्ाक्ष राख्नुहुन्छ ? वा कहिलेकाहीँ आफू पढाइमा असफल भएका कारण फेसबुकमा नकारात्मक प्रतिक्रियाहरू राख्नुहुन्छ ? या कहिलेकाहीँ कलेज जान मन नलागेका कुरालाई पनि अपडेट गर्नुहुन्छ ? त्यसो त नेपालमा आजभोलि फेसबुक पनि सबैभन्दा बढी हेरिने वेबसाइटमा पर्छ । यसका संस्थापक मार्क जुकरबर्ग पनि विश्वका त्यस्ता सफल मानिसमध्ये एक हुन् जसले कलेजको अध्ययनलाई बीचैमा छाडेका थिए । हार्वर्ड विश्वविद्यालयमा भर्ना भएका मार्कले केही नयाँ गर्नका लागि हार्वर्ड छाडिदिए र फेसबुकलाई विश्वव्यापीकरण गरिदिए । पहिले हार्वर्ड विश्वविद्यालयका लागि मात्र खोलिएको फेसबुक बिस्तारै विश्वमै लोकपि्रय बन्न थाल्यो । एउटा कार्यक्रममा जुकरबर्गले भनेका थिए, 'यदि मैले पनि साथीहरूले जस्तै हार्वर्डमा पढेर कुनै एउटा सामान्य कोठामा कम्प्युटरमा खेल्दै गरेको भए, आजजस्तो खुसी हुने थिइनँ । त्यसो त मलाई पनि त्यो समयमा विश्वमा नाम चलाउने हुटहुटी नै जागेको थियो ।' अहिले आएर मार्क पनि विश्वका सर्वाधिक धनीको सूचीमा परिसकेका छन् । तर, अमेरिकी पप गायिका लेडी गागाले भने यत्तिकै कलेज छाडेकी हैनन् । 'कलेजमा भइरहेको भए मलाई तपाईंहरूले गागा भनेर चिन्न नै पाउनुहुँदैनथ्यो,' उनले विभिन्न कार्यक्रममा भन्ने गरेकी छिन्, 'स्टेफनी जर्मानोटाबाट जब म गागा भएँ, मलाई संगीत र गीतको धुनबाहेक अन्य कुनै कुराले पनि छुन सकेको छैन ।' हुन पनि, लेडी गागाको पछिल्लो समय विश्वमै यति धेरै चर्चा छ कि समाजिक सञ्जाल टि्वटरमा सबैभन्दा धेरै फलोअरको संख्या उनैको छ । न्युयोर्क विश्वविद्यालयमा भर्ना भएको एक वर्षमा नै उनले कलेज छाडेकी थिइन् । लेडी गागाकै फ्यानमध्येका एक टाइगर उड्स पनि विश्वका प्रसिद्ध व्यक्ति हुन् । विश्वमै सबैभन्दा धेरै कमाउने खेलाडी उड्सले आफ्नो परिवारलाई लामो समय ढाँटिरहे, तर आखिर कुनै सीप नलागेपछि भन्न बाध्य भए, 'मैले कलेज छाडिसकेँ ।' तर, आफ्नो परिवारलाई यो जानकारी दिइसक्दा भने उनले विश्वका नै सबैभन्दा उत्कृष्ट गल्फरको उपाधि पाइसकेका थिए । विश्वका चर्चित विश्वविद्यालयमध्ये स्ट्यानफोर्ड विश्वविद्यालयमा पढेका उड्सले २ वर्षमा नै कलेज छाडेका थिए । उता, अभिनेता ह्यारिसन र्फडलाई भने विश्वविद्यालयबाट विद्यावारिधि गरिसकेपछि एउटा सफल दार्शनिक बन्ने रहर थियो । तर, कलेजमा भर्ना भएको केही दिनमै उनले आफूलाई दर्शनशास्त्रले भन्दा अभिनयले बढी आनन्द दिने महसुस गरे । फलस्वरूप उनले कलेज छाडे र अभिनयमा आउनेबित्तिकै विश्वमा नै तहल्का पनि मच्चाइदिए । उनले अभिनय गरेका स्टार वार्सजस्ता कैयौँ फिल्म हलिउडमा सबैभन्दा बढी चर्चामा रहे र उनलाई धनी अभिनेताका रूपमा पनि स्थापित गराउन सफल भए । र्फडजस्तै अभिनेता टम ह्यान्क्सलाई पनि कलेज छाडेकामा कुनै पछुतो भएन । उनलाई कलेजमा गएर औपचारिक शिक्षा लिनुभन्दा पनि आफ्नो अभिनयका लागि अभ्यासको बढी जरुरी रहेको लाग्यो । त्यसकारण उनले कलेज छाडे र अभिनयमा लागे । तर, हलिउडका अर्का अभिनेता जेम्स क्यामरुन भने कलेज छाडेपछि सोझै अभिनयमा लागेनन् । केही समय स्कुल बस चलाएपछि उनलाई लाग्यो, उनी अभिनय गर्न सक्छन् । त्यसपछि उनी आफूले छाडेको फुलरटन विश्वविद्यालयमा नै गए र एक युवतीलाई प्रेम प्रस्ताव राखे । तर, उनलाई त्यो पनि उचित लागेन । पछि उनले होटेलमा काम गर्ने एक महिलासँग बिहे गरे । सन् १९७७ मा क्यामरुनले अर्का कलेज छाडेका अभिनेता र्फडको स्टार वार्स हेरे र त्यसैबाट प्रभावित भएर अभिनयको कक्षामा आफूलाई भर्ना गरे । त्यसपछि उनले विश्वका केही त्यस्ता प्रसिद्ध चलचित्रहरू बनाइदिए जसका कारण आजसम्म पनि विश्वमा उनको प्रशंसा गरिन्छ । लगभग यी सबै अभिनेता तथा विश्व प्रसिद्ध व्यक्तिले आजभोलि आफ्नो कुरा राख्नका लागि टि्वटरको प्रयोग गर्ने गरेका छन् । तर, टि्वटरका संस्थापक ज्याक डोर्सी पनि तीमध्येका एक हुन्, जसले आफ्नो कलेजलाई बीचैमा छाडेका थिए । क्यालिफोर्निया विश्वविद्यालयबाट न्युयोर्क विश्वविद्यालयमा सरेका डोर्सीले त्यहाँ पनि लामो समय अडिन सकेनन् । भर्ना भएको केही समयमा नै कलेज छाडेर डोर्सी टि्वटर खोल्नतिर लागे र आज ६५ करोड अमेरिकी डलरका मालिक भएर विश्वका धनी व्यवसायीको सूचीमा आफ्नो नाम दर्ता गर्न सफल भइसकेका छन् । उता, डेल कम्पनीका संस्थापक माइकल डेलले पनि भर्ना भएको एक महिनामा नै कलेज छाडे । अहिले विश्वमा चलिरहेका डेलका कम्प्युटरले मानिसको जीवनलाई सहज बनाइरहेको छ । कलेज छाडेको २५ वर्षपछि माइकल डेलले अर्को नयाँ रेकर्ड पनि राख्न सफल भए । फोब्स पत्रिकाले गरेको अध्ययनअनुसार माइकल डेल अहिले विश्वका १० धनी मानिसको सूचीमा परेका छन् । तर, यी व्यक्तिहरू मात्रै होइनन् जसले कलेज छाडेर अन्ततः सफलता हात पारे । विश्वमा यस्ता मानिसको सूची लामो हुनसक्छ । तर, हामीले उनीहरूबाट के शिक्षा लिन सक्छौँ भने अध्ययनमा असफल भए तापनि आफ्नो इच्छाको काममा पूर्ण रूपमा लाग्ने हो भने सफलता पक्कै पनि प्राप्त गर्न सकिन्छ ।

No comments:

Post a Comment