Main Option : Watch live cricket,football,FM,T.V and download music

Showing posts with label Julian Assange. Show all posts
Showing posts with label Julian Assange. Show all posts

Saturday, 19 November 2011

विश्वविद्यालय छाडेर विश्व हल्लाउनेहरु

सफलताका लागि मानिसहरु विश्वविद्यालय धाइरहेका छन् । विश्वविद्यालयबाट प्राप्त डिग्रीको प्रमाणपत्रले कतिलाई सफल बनाएको पनि छ । तर विश्वविद्यालयमा अध्ययन गर्दागर्दै बीचमा पढाइ छाड्ने मध्येका केही व्यक्तिहरुले भने अहिले विश्वमा सफल व्यक्तिको सूचीमा नाउा राख्न सफल भएका छन् ।




७० करोड मानिसहरुको पि्रय फेसबुकडटकमका संस्थापक मार्क जुकरबर्ग हुन् या विश्वप्रसिद्ध कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्स, कलेज छाडेर सफल हुनेहरुको उदाहरण हुन् । जुकरबर्ग र गेट्सले विश्वको सर्वाधिक आकर्षक मानिएको हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्दागर्दै छाडेर सफल हुनेमा पर्छन् । केही महिना अगाडि निधन भएका एप्पल कम्पनीका संस्थापक स्टिभ जब्स पनि कलेजको अध्ययनलाई बीचैमा छाड्नेमध्ये पर्छन् ।




विश्वका धनी व्यक्तिहरुको मात्र सूची प्रकाशित गर्ने 'फोब्र्स’ पत्रिकाका अनुसार, विश्वका अर्बपतिहरुमध्ये ३५ जना अर्बपतिले 'कलेज ड्रपआउट’ सूचीमा रहेका छन् । फोब्र्सका अनुसार कलेज छाड्ने अर्बपतिहरुको सम्पत्ति औसतमा ९.४ बिलियन अमेरिकी डलर रहेको छ जबकि पिएचडी गरेका अर्बपतिहरुको औसत सम्पत्ति मात्र ३.२ बिलियन डलर छ । आउनुहोस्, केहीबेर विश्वविद्यालयको अध्ययन छाडेर सफल हुनेहरुको सूची हेरौ :



बिल गेट्सः विश्व विद्यालयको अध्ययन छाडेर सर्वाधिक सफल हुनेको सूचीमा पहिलो नम्बरमा बिल गेट्स पर्छन् । माइक्रोसफ्टका सहसंस्थापक गेट्स विश्वमा उत्कृष्ट मानिएको हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्दागर्दै बीचैमा छाडेका थिए । गेट्स विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीमा पर्छन् । सन् १९५५ मा जन्मेका गेट्स सन् १९७३ मा हार्वर्ड गएका थिए । उनले त्यसको दुई वर्षमै अध्ययन पूरा नगरी छाडेका थिए ।



स्टिभ जब्स : एप्पलका सहसंस्थापक स्टिभ जब्स पनि कलेजको अध्ययन बीचमै छाडेर सफल हुने व्यक्तिमा पर्छन् । विश्वलाई सूचना र प्रविधिको क्षेत्रमा ठूलो देन दिएका उनले आफ्नो स्कुलको पढाइ सकेपछि सन् १९७२ मा रिड कलेजमा भर्ना भएका थिए । उनले एउटा सेमेस्टर सकेपछि कलेज छाडेर भारत भ्रमणमा निस्केका थिए । उनलाई पूर्वीय दर्शनको बारेमा राम्रो जानकारी थियो । उनको गत असोजमा निधन भयो ।



मार्क जुकरबर्ग : हार्वर्ड विश्वविद्यालयको पढाइ छाडेर सफल हुनेमा फेसबुकका सहसंस्थापक मार्क जुकरबर्गको पनि नाम आउाछ । विश्वविद्यालयमा पढ्दा बनाएको सामाजिक नेटवर्क साइट फेसबुक कतिपय देशमा गुगलभन्दा लोकपि्रय छ । अहिले यसका ७० करोड प्रयोगकर्ताहरु छन् । फोब्र्स म्यागजिनका अनुसार जुबरबर्ग विश्वका सबैभन्दा कान्छा अर्बपति हुन् । सन् २०१० मा उनको सम्पत्ति ४ बिलियन अमेरिकी डलर थियो ।



मिसेल डेल : डेल इङ्कका संस्थापक रहेका मिसेल डेल अर्बपतिको सूचीमा मात्र होइन कलेज छाड्नेहरुको सूचीमा पनि छन् । सन् १९६५ मा अमेरिकामा जन्मेका डेलको कूल सम्पत्ति अहिले १७.२ बिलियन अमेरिकी डलर छ । डेलले पिसिएस लिमिटेडको स्थापना गरेपछि टेक्सास विश्वविद्यालय छाडेका थिए । सन् २००६ मा डेलले सो विश्वविद्यालयलाई ५० मिलियन अमेरिकी डलर सहयोग दिएका थिए ।



जुलियन असाञ्जः विश्वको सर्वाधिक शक्तिशाली देश अमेरिकाको टाउको दुखाइ बनेका विकिलिक्सका संस्थापक जुलियन असाञ्ज पनि कलेजको पढाइ बीचैमा छाड्नेमा पर्छन् । सन् १९७१ मा अस्टे्रलियामा जन्मेका असाञ्जले अमेरिकी दूतावासहरुले आफ्नो विदेश मन्त्रालयमा पठाएका केवलहरु सार्वजनिक गरिदिएपछि संसारभर चर्चाको केन्द्रमा रहेका छन् । अमेरिकी सरकारको अत्यन्तै गोप्य दस्तावेज सार्वजनिक गरिदिएका असाञ्ज २००३ देखि २००६ सम्म मेलबर्न विश्वविद्यालयमा अध्ययन गरेपनि आफ्नो पढाइ पूरा नगरी छाडेका थिए । उनलाई गएको वर्ष संसारका शक्तिशाली व्यक्तिहरुमध्ये एकका रुपमा लिइएको थियो ।



लेडी गागाः सन् १९८६ मा अमेरिकामा जन्मेकी गायिका लेडी गागा पनि विश्वविद्यालयको अध्ययन बीचमै छाड्नेमा पर्छिन् । उनको पहिलाको नाम गरमान्टोआ हो । न्युयोर्क विश्वविद्यालयमा उनले आफ्नो अध्ययन पूरा नगरी छाडेकी थिइन् । २००८ मा उनको गीति एल्बम "द फेम" चर्चित भएपछि उनी एक्कासि चर्चामा आएकी थिइन् ।



टाइगर उड्सः सन् १९७५ मा अमेरिकामा जन्मेका व्यवसायिक गल्फ खेलाडी टाइगर उड्स विश्वको एक नम्बर गल्फ खेलाडीका रुपमा परिचित छन् । उड्सले सन् २०१० मा मात्र ९०.५ मिलियन डलर आम्दानी गरेका थिए । सन् १९९४ मा स्ट्यानफोर्ड विश्वविद्यालयमा भर्ना भएका उड्सले अध्ययन पूरा नगरी दुई वर्षमै विश्वविद्यालय छाडेका थिए ।




टम ह्याङ्क्सः अर्बपति व्यवसायी मात्र विश्वविद्यालय छाड्नेमा पर्दैनन्, चर्चित कलाकारहरु पनि यो सूचीमा पर्छन् र तीमध्ये धनी कलाकारको समेत छवि बनाएका टम ह्याङ्क्स यो सूचीमा नपर्ने सवालै भएन । सन् १९५६ मा जन्मेका ह्याङ्क्स कलाकार, निर्माता, लेखक तथा निर्देशक समेत हुन् । ३.३ बिलियन सम्पत्तिका मालिक रहेका ह्याङ्क्सले क्यालिफोर्निया स्टेट विश्वविद्यालयमा पढ्दा पढ्दै छाडेका थिए ।




ल्यारी इलिसनः ओर्‍याकल फाउन्डेसनका सह संस्थापक रहेका ल्यारी इलिसन सन् १९४४ मा अमेरिकामा जन्मेका थिए । ३३ बिलियन अमेरिकी डलर सम्पत्ति रहेका इलिसनले सिकागो विश्वविद्यालयमा अध्ययन पूरा नगरी छाडेका थिए । इलिसन अहिले ओर्‍याकल कर्पोरेशनको सिइओ छन् । उनको कम्पनीले कम्युटरको सफ्टवेर र हार्डवेयरसम्बन्धी काम गर्छ । सन् २०११ मा उनको कम्पनीले ८.५ बिलियन डलर फाइदा गरेको थियो ।

पल एलेनः माइक्रोसफ्टका सहसंस्थापक पल एलेन पनि अर्का सहसंस्थापक बिल गेट्सजस्तै कलेजको अध्ययन पूरा नगर्नेमा पर्छन् । एलेनले वासिङटन स्टेट विश्वविद्यालयमा पढ्दापढ्दै अध्ययन पूरा नगरी छाडेका थिए । सन् १९५३ मा जन्मेका एलेन हाल भल्कन इङ्कका अध्यक्ष रहेका छन् ।




स्रोतः विभिन्न ऐजेन्सीको सहयोगमा