Main Option : Watch live cricket,football,FM,T.V and download music

Saturday 31 December 2011

निर्देशक तुलसी घिमिरेको पारिवारिक खटपटका कारण काठमाडौंबाटै उठीवास

नेपाली चलचित्र क्षेत्रमा 'मूर्धन्य'का रूपमा चिनिने एकजना निर्देशकको पारिवारिक खटपटका कारण काठमाडौंबाटै उठीवास हुने स्थिति उत्पन्न भएको छ। कुनै वेला 'सिल्भर जुब्ली' मनाउनेगरी चलचित्र निर्देशन गरेका यी निर्देशकले पछिल्ला वर्षमा बनाएका तीनवटा चलचित्र लगातार फ्लप भएपछि यो स्थिति आएको हो।
यो खबर कुसुमे रुमाल, लाहुरे, चिनो, बलिदान, दर्पणछायाजस्ता सफल फिल्मको निर्देशन गरिसकेका चर्चित निर्देशक तुलसी घिमिरेको हो। होम प्रोडक्सनमा उनले बनाएका पछिल्ला चलचित्र लहना, दुई किनारा र देश लगातार बक्स अफिसमा असफल भएपछि भाइ श्रवण घिमिरेसँग उनको मनमुटाव बढ्दै गएको थियो। 'मुख हुँदाहुँदै नाकले किन पानी पिउनू भनेर दाजुलाई नै निर्देशक रोजेको थिएँ।' खबरको पुष्ट्याइँ गर्दै श्रवणले भने, 'प्रोड्युसरको मर्का नै नबुझी एउटै फिल्म सक्न चार–चार वर्ष लगाइदिएपछि समस्या हुने नै भयो नि!'
लगानी नउठेको विषयलाई लिएर तिक्तता बढ्दै जाँदा भाइ श्रवणले आफ्नी श्रीमतीका नाममा राखेको दाजु बस्दै आएको काठमाडौं धापासीस्थित घरसमेत स्कुललाई भाडामा लगाइदिएका छन्। त्यो पनि दाजु तुलसी बिरामी भएर उपचारका लागि दिल्ली गएको मौका पारी ताला फोडेर दुई फ्ल्याटमा रहेका उनका सामान झिकी माथिल्लो तलामा रहेका दुईकोठामा कोचिदिएका थिए। दिल्लीबाट फर्केर आउँदा आफू बसेको घरमा स्वर्णिम बोर्डिङ स्कुलको साइनबोर्ड देखेपछि तुलसी र उनकी पत्नी भारती जिल्ल परेको स्रोतको भनाइ छ। यतिसम्म कि उनीहरू भारत जाँदा आफ्नी छोरी डिम्पीलाई भाइ श्रवणको महाराजगन्जस्थित घरमा समेत नराखी कपनस्थित आफ्ना चेला–चेली ऋषि–सरिता लामिछानेको घरमा राखेका थिए।
तर, श्रवण यो कुरा स्विकार्न तयार छैनन्। उनी आमाका अघिल्तिर दाजुसँग भएको सल्लाहअनुसार नै घर भाडा लगाएको बताउँछन्। 'दाजुले फिल्म स्टुडियो बनाउँछु भनेर सात–सात वर्षसम्म घर खाली राख्नुभयो।' उनले प्रस्टीकरण दिए, 'पछिल्ला दिनमा फिल्म फ्ल्प भएर चल्न गाह्रो हुन थालेपछि दाजुकै सल्लाहमा घर भाडामा लगाएको हो।'
विगतमा आफ्नो कमाइ कालिङपोङमा लाने गरेको आरोप लगाइए पनि वरिष्ठ कलाकार तुलसीलाई पछिल्ला दिनमा भाइले समेत साथ दिन छाडेपछि बाँच्न गाह्रो हुँदै आएको छ। स्रोतका अनुसार, भाइको अपमान सहेर उनीहरूको स्वामित्वमा रहेको घरको दुईकोठामा कोचिन मन छैन, तर त्यसको विकल्प पनि उनीसँग छैन। डिम्पी र पञ्चमी दुवै छोरीको कलेजको पढाइ धानेर घरखर्च चलाउन अहिलेकै अवस्थामा पनि मासिक ५० हजारको हाराहारीमा खर्च चाहिन्छ। भाइले बाध्यताले छाडिदिएका दुईकोठामा कोचिन छाडेर स्वाभिमानका लागि अन्तै सर्ने हो भने खर्च अरू बढ्ने निश्चित छ। त्यसैले पनि उनी अपमान सहेरै बस्न बाध्य भएको बताइन्छ।
अर्को एक समाचारअनुसार नेपाली संस्कृतिलाई योगदान पुर्याछउने तुलसी घिमिरेलाई बल्ल नेपाली नागरिता दिने प्रयास भइरहेको छ। त्यसका लागि चलचित्र बोर्डले समेत सिफारिस गरिसकेको बताइन्छ। तर, नजिकबाट चिन्नेहरू उनले भारतीय नागरिकता त्याग्न नचाहेको बताउँछन्।

No comments:

Post a Comment