Main Option : Watch live cricket,football,FM,T.V and download music

Tuesday 13 March 2012

साउदीमा लाइसेन्सबिनाका नेपाली चालक


चितवनका तिलक दवाडी साउदी अरबस्थित जेद्दाको सडकमा दिनहुँ १२ घन्टाभन्दा बढी गाडी हाँक्छन् । अचम्म ! खाडीको सबैभन्दा कडा कानुन भएको देश साउदीमा उनीसँग गाडी हाँक्ने लाइसेन्स नै छैन । बिनालाइसेन्स गाडी हाँक्दा हुन सक्ने परिणामबारे उनलाई राम्रो जानकारी छ । तैपनि जेद्दाको सडकमा उनले गाडी नहुइँक्याएको दिनै हुन्न ।
तिलक बिनालाइसेन्स गाडी हाँक्ने एक्ला होइनन् । उनले जस्तै गाडी हाँक्ने अरू ३० नेपाली पनि छन् । 'हामी एक वर्षदेखि लाइसेन्सबिना गाडी चलाउन बाध्य छौं,' फोनमा उनले भने, 'लाइसेन्स बनाइदिन कम्पनीलाई बारम्बार भन्दा पनि हाम्रो सुनुवाइ भएन ।'
तिलकसँगै धनबहादुर राई, गोविन्द मुडवरी, रामप्रसाद कोइराला, पुण्यप्रसाद पौडेल, कृष्णबहादुर गुरुङ, डुब्लु चौधरीहरू जेद्दास्थित अमिर बिन एटेक -बिजिसी) कम्पनीका लागि गाडी चलाउँछन् । काठमाडौंस्थित मोभिरा ओभरसिज कम्पनीमार्फत त्यहाँ पुगेका उनीहरूले पहिले भनिएबमोजिम तलब सुविधासमेत पाएका छैनन् ।
'लाइसेन्स मात्रै होइन, परिचयपत्र -अक्कामा) समेत बनेको छैन,' उनले भने, 'यसरी बिनालाइसेन्स गाडी चलाउनुपर्दा एकपटक ५ सय रियाल -१० हजार रुपैयाँ) जरिवाना तिर्नुपरेको छ ।' फेरि कम्पनीले हरेक महिनाजसो अक्कामाका लागि भन्दै एक सय रियाल तलबबाट काट्दै आएको छ । 'मासिक पाउँदै आएको आठ सय रियाल तलब जरिवाना तिर्दा ठिक्क,' अर्काले भने, 'साँझ/बिहान केही नभनेर बगाएको पसिनाको अर्थ भएन ।'
साउदीमा बिनालाइसेन्स गाडी चलाउनु कानुनको गम्भीर उल्लंघन हो । दुर्घटनामा परेर कसैको मृत्यु भए त्यस्ता चालकले ज्यान मुद्दा खेप्नुपर्छ । उनीहरूले म्यानपावरलाई यसबारे नबताएका होइनन् ।
पटक-पटक भनिरहेका छन्, 'लाइसेन्स बनाइदेऊ, तलब पूरा दिलाइदेऊ, उपचार खर्च र ओभरटाइम दिलाइदेऊ ।' तर म्यानपावरले यो नसुनिदिँदा १० जना चालक भागिसकेका छन् ।
असी हजारदेखि १ लाख १५ हजार रुपैयाँसम्म तिरेर त्यहाँ पुगेका उनीहरू अहिले आफूलाई उद्धार गरिदिन साउदीस्थित सामाजिक संस्थाहरूलाई हारगुहार गरिरहेका छन् । त्यसका लागि गैरआवासीय नेपाली संघ, साउदीले उद्धारका लागि पहल सुरु गरेको छ । संघका अध्यक्ष धरम केसीले भने, 'उहाँहरूको अवस्था निकै जोखिमपूर्ण छ । यस्तो अवस्थाबाट उद्धार गर्न हामीले दूतावाससमक्ष अनुरोध गरेका छौं ।'

No comments:

Post a Comment