अमेरिकी कम्पनी एप्पलका उत्पादनहरु आइपड, आइफोन र आइप्याडलाई अमेरिकामा आयात गर्न प्रतिबन्ध लगाउन दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगलाई आग्रह गरेको आज बताएको छ।
सामसुङका प्रवक्ताले बताए- 'एप्पललाई उत्पादन हुने स्थानबाट अमेरिकी बजारमा आइपड, आइफोन र आइप्याड आयात गर्न हामीले आयोगलाई आग्रह गरेका छौँ।'
सामसुङले एप्पलमाथि पाँच वटा पेटेन्ट उल्लंघन गरेको आरोप लगाएको छ। ती पेटेन्टहरु वायरलेस कम्युनिकेसन्स स्टायन्डर्ड र मोबाइल डिभाइस युजर इन्टरफेससित सम्बन्धित छन्।
विश्वका दुई प्रमुख स्मार्टफोन निर्माता कम्पनी सामसुङ र एप्पलबीच लामो समयदेखि कानुनी लडाइँ जारी छ। यसको सुरुवात गत अप्रिलमा एप्पलले सन फ्रान्सिस्कोमा कोरियन कम्पनीविरुद्ध आफ्ना स्मार्टफोन र ट्याबलेट कम्प्युटरको नक्कल गरेको आरोपमा मुद्दा दर्ता गरेपछि भएको थियो।
सामसुङले यसको जवाफ सउलमा त्यही महिना पाँच वटा पेटेन्ट उल्लंघनका मुद्दा दर्ता गरेर दिएको थियो। उसले टोक्योमा दुई पेटेन्ट उल्लंघन र जर्मन सहर म्यानहेइममा तीन वटा पेटेन्ट उल्लंघन गरेको भन्दै मुद्दा दर्ता गरेको छ।
गत साता एप्पलले सामसुङविरुद्ध सोलको जिल्ला अदालतमा दोस्रो मुद्दा दर्ता गरेको थियो जसमा सामसुङका पछिल्ला उत्पादनहरुमाथि बिक्री प्रतिबन्ध लगाउन माग गरिएको थियो। उसले सामसुङमाथि आइफोन र आइप्याडको नक्कल गरेको आरोप लगाएको थियो।
सामसुङको ग्यालेक्सी ट्याब अहिले आइप्याडको प्रतिस्पर्धामा छ। आइप्याडलाई ग्यालेक्सीले बिक्रीमा उछिनिसकेको छ।
No comments:
Post a Comment