असार १९ - विश्वकप छनोटका दुई खेलबाट एन्फाले ३० लाखभन्दा बढी आम्दानी गरेको छ। दुई खेलमा ३२ लाख १७ हजारको टिकट बिक्री भएकाले एन्फाले जनाएको छ। नेपाल र इस्ट टिमोरबीच शनिबारको दोस्रो लेगमा मात्र एन्फाले २० लाख रुपियाँभन्दा बढी संकलन गरेको छ।
तर, झन्डै १५ हजार दर्शकले हेरेको खेलमा ९ हजार २९ जनाले मात्र टिकट काटेको जनाएको छ। २ सय दरका ८ हजार १ सय २५ तथा ५ सय दरका मात्र ९ सय ४ टिकट बिक्री भएको एन्फाको दाबी छ। एन्फाका अनुसार बुधबार ११ लाख ४० हजार रुपियाँको टिकट बिक्री भएको थियो।
गत चैतमा एन्फाले एएफसी च्यालेन्ज कपको समूह चरणका तीन खेल आयोजना गर्दा ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो। चैत २६ मा नेपाल र कोरियाबीचको खेलमा नेपाली फुटबलमै सबैभन्दा बढी २४ लाख रुपियाँको टिकट बिक्री भएको थियो।
दौरा सुरुवाल
प्रशिक्षक ग्राहम रोबर्टस नेपाली समर्थकमाझ लोकप्रिय छन्। उनले टोली सम्हालेयता नेपालले सुखद नतिजा दिइरहेकाले पनि उनी लोकप्रिय भएका हुन्।
फुटबलमा समर्थकको महत्व राम्ररी बुझेका रोबर्टस शनिबार दौरा सुरुवाल र भादगाउँले टोपीमै रंगशाला पुगे। त्यही पोशाकमा 'टचलाइन' बाट खेलाडीलाई निर्देशन दिइरहेका रोबर्टसले दोस्रो हाफमा भने पोशाक परिवर्तन गरेका थिए। किन दोस्रो हाफमा पोशाक फेरेको भन्ने प्रश्नमा उनको जवाफ थियो, 'मलाई अलि अप्ठ्यारो भयो।'
रोबर्टसको नेतृत्वमा नेपालले ७ खेल खेलिसकेको छ। त्यसमध्ये ५ जित, १ बराबरी र एक हार छ। उनले टोली सम्हालेपछि नेपालले चैतमा एएफसी च्यालेन्ज कपको समूह चरण खेलेको थियो। उत्तर कोरियाजस्तो सशक्त टोलीसँग १-० को हार बेहोरे पनि नेपाल समूह उपविजेताको रूपमा अन्तिम चरणमा पुगेको छ। यसपटक विश्वकप छनोटका दुवै खेलमा इस्ट टिमोरविरुद्ध जित दिलाएर पहिलोपटक दोस्रो चरण पुर्यायो। च्यालेन्ज कपअघि नेपालले भुटानविरुद्ध दुवै खेल जितेको थियो।
यद्यपि खेलदौरान नेपाली पोशाक लगाउने उनी पहिलो प्रशिक्षक भने होइनन्। सन् १९९९ मा नेपालले आठौं साफ खेलकुदमा भाग लिँदा तत्कालीन फुटबल प्रशिक्षक बेलायतकै स्टेफन कन्स्टान्इनले सबै खेलमा दौरा सुरुवाल नै लगाएका थिए। आठौं साफमा नेपाल फाइनलमा पराजित भएको थियो।
जुमानुको गोल ९
राष्ट्रिय जर्सीमा जुमानु राईको गोलसंख्या ९ पुगेको छ। जुमानुले इस्ट टिमोरविरुद्ध ५-० ले जित्दा १ गोल गरेका थिए। नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा तेस्रोमा पुग्दा जुमानुले एन्फा अध्यक्ष गणेश थापासँग बराबरी गरेका छन्। जुमानु र थापा दुवैले समान ९ गोल छ। उनीहरूभन्दा अगाडि हरि खड्का र निराजन रायमाझी छन्। दुवैको १३ गोल छ। अनिल गुरुङले ७ पुर्याएका छन्। उनले इस्ट टिमोरविरुद्ध पहिलो गोल गरे। अनिल र जुमानु दुवैले पहिलो लेगमा पनि १-१ गोल गरेका थिए। जुमानुले २७ र अनिलले १५ क्याप जितेका छन्।
विश्वकप छनोटमा नेपालका लागि गोल गर्ने खेलाडीको सूचीमा शनिबार तीन खेलाडी थपिएका छन्। योसँगै विश्वकप छनोटमा नेपालका गोल गर्ने खेलाडी ११ पुगेको छ। टिमोरविरुद्ध नेपालको ५-० को जितमा भोला सिलवाल, जगजित श्रेष्ठ र सुजल श्रेष्ठले १-१ गोल गरे। राष्ट्रिय टोलीबाट तीनै जनाको त्यो पहिलो अन्तर्राष्ट्रिय गोल हो। शनिबारको खेल राष्ट्रिय टोलीबाट भोलाको आठौं, जगजितको तेस्रो र सुजलको दोस्रो खेल हो।
दर्शक मैदानमा
विदेशमा सामान्यजस्तै लाग्ने घटना शनिबार नेपाल र इस्ट टिमोरबीचको खेलमा भयो। इस्ट टिमोरविरुद्ध भोला सिलवालले दोस्रो गोल गरेपछि एक दर्शक खुसी मनाउन मैदानको मध्य भागसम्म पुगे। खेलदौरान मैदानभित्र नै दर्शक प्रवेश गरेको सम्भवतः नेपाली फुटबलमा यो पहिलो घटना हो। ती दर्शक मध्यभागसम्म पुग्दा पनि कोरियाली रेफ्री ली मिन हुले चालै पाएनन्। गोलको खुसी मनाउँदै ती दर्शक फेर्केर गोललाइन पुग्दा सुरक्षाकर्मीले समातेका थिए।
No comments:
Post a Comment