काठमाडौं, असार २५ (नागरिक)- भौतिक योजना तथा निर्माण मन्त्री एवम् माओवादी स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादीको जारी स्थायी कमिटी र आगामी केन्द्रीय कमिटीको बैठकले उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई सर्वसम्मतरुपमा प्रधान मन्त्रीमा सिफारिस गर्ने दाबी गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा मन्त्री रायमाझीले अध्यक्ष दाहालले नै भट्टराईको नाम प्रधान मन्त्रीका रुपमा प्रस्ताव गर्ने दाबी गर्दै त्यसमा कसैको पनि विरोध नरहेको स्पष्टपारे। उनले भने– हाम्रो पार्टीमा कसको नेतृत्व भन्नेमा द्विविधा छैन। अध्यक्षले बाबुरामजीकोनामप्रस्तावगर्नुहुन्छ र सर्वसम्मतिले पारित हुन्छ।
यद्यपि उनले माओवादी सहमतिको सरकारको नेतृत्वको विषयमा अधिक लचक रहेको दाबी पनि गरे। माओवादी ठूलो पार्टी भएकाले नेतृत्वको दाबी माओवादीकै हुने र त्यसो भए सहमति पनि बन्ने दाबी गर्दै उनले सहमतिमा भाँजो हाल्नेगरी माओवादीले जिद्धी र अडान नलिने स्पष्ट पारे।
साक्षात्कारमा नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले आफू व्यक्तिगतरुपमा डा. बाबुराम भट्टराईको फ्यान भएको उल्लेख गर्दै उहाँ सहमतिको प्रधान मन्त्री बने एमालेलाई कुनै आपत्ति नहुने बताइन। उनले भनिन्– नेतृत्व ठूलो कुरा होइन, जसको नेतृत्व भए पनि एमालेलाई फरक पर्दैन।
यद्यपि उपाध्यक्ष भण्डारीले त्यसका लागि माओवादी शान्ति प्रक्रिया पूरा गर्न प्रतिबद्ध हुनुपर्ने जिकिर गरिन्। उनले माओवादीले द्वन्द्व र शान्तिको दुईवटा नाउमा खुट्टा राखेकाले समस्या उत्पन्न भएको दाबी गर्दै सहमति गरिसकेपछि नयाँ नयाँ सर्त थप्ने माओवादी व्यवहारले शान्ति, संविधान र सहमतिमा अवरोध उत्पन्न भएको आरोप लगाइन।
No comments:
Post a Comment