Main Option :
Thursday, 15 December 2011
बैठकमै प्रचण्डको गाली खाए-गच्छदारले
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई विश्वासमा लिएर नेपाली सेनाका लागि आवश्यक पर्ने सैन्य सामग्री खरिद गरी सत्तरी करोड रुपैयाँभन्दा बढी कमिसन खाने योजनामा रहनुभएका रक्षा तथा गृहमन्त्री विजयकुमार गच्छदारले सोमबार प्रचण्डबाट नराम्रो गाली खानुपर्यो। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरूलाई उपेक्षा गर्न थालेको महसुस गरेपछि मधेसी मोर्चाका नेताहरूले माओवादी नेताहरूसँग छलफल गर्ने कार्यक्रम बनाएका थिए। कार्यक्रमअनुसार मोर्चाका नेताहरू महन्थ ठाकुर, विजयकुमार गच्छदार, जयप्रकाश गुप्ता, राजेन्द्र महतो र महेन्द्र यादव तथा प्रचण्ड र डा. बाबुराम भट्टराईबीच गत सोमबार बैठक भएको थियो।
बैठकमा मोर्चासम्बद्ध नेताहरूले प्रधानमन्त्री भट्टराईको कार्यशैली र कतिपय अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै संसद्मा विचाराधीन 'समावेशी विधेयक' पारित गराउन जोड दिएका थिए। यसैक्रममा उपप्रधानमन्त्रीसमेत रहनुभएका विजयकुमार गच्छदारले समेत धेरै ठूला–ठूला कुरा गर्न थालेपछि सायद प्रचण्डले सहन सक्नुभएन। विजय गच्छदारलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, 'सरकार सफल हुने–नहुने भन्ने कुरा गृह मन्त्रालयको 'पर्फर्मेन्स'मा भरपर्छ, तपाईंको 'पर्फर्मेन्स' राम्रो छैन, विभिन्न कुराहरू बाहिर आइरहेका छन्, बद्नामी ज्यादा भइरहेको छ, त्यसैले तपाईं आफ्नो 'पर्फर्मेन्स' राम्रो गर्नुहोस् सरकारको काम देखिन थालिहाल्छ।' यसरी प्रचण्डले नामै तोकेर आफ्नो कार्यशैलीमाथि प्रश्न उठाएपछि गच्छदारको अनुहार हेर्नलायक बनेको थियो। त्यसमाथि सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले समेत प्रचण्डका कुरामा सहमति जनाउँदै गच्छदारलाई हप्काएपछि उहाँको मुद्रा थप निराश देखिएको थियो। महतोले गच्छदार मोर्चाको तर्फबाट गृहमन्त्री भएको स्मरण गराउँदै काम गर्दा एकलौटी ढङ्गले गर्ने गरेको र तीनवटा पार्टीका अध्यक्ष रहेको जिल्ला सर्लाही (महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादव) को प्रहरी प्रमुख सरुवा गर्दा कसैसँग पनि सल्लाह नगरेकोमा गच्छदारको आलोचना गर्नुभएको थियो।
यसरी सत्ता साझेदार दल माओवादीका नेता प्रचण्ड र मोर्चाकै नेताहरूबाट समेत खप्की खाएपछि सुरुमा निकै फुर्तीसाथ प्रस्तुत भइरहेका गच्छदार एकाएक शिथिल बन्नुभएको थियो। स्मरणीय छ, गृहमन्त्री भएयता गच्छदारमाथि विभिन्न आरोप लाग्दै आएको र उहाँको कामलाई लिएर प्रधानमन्त्री भट्टराईसमेत असन्तुष्ट रहँदै आउनुभएको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment