Main Option :
Friday, 22 June 2012
कसरी भयो हरिवंशको दोस्रो विवाह ?
निधारमा रातो टीका, गलामा सिक्री र माला, साथमा सुन्दर पत्नी । विवाहको यो रमाइलो क्षणमा पनि हास्यकलाकार हरिवंश आचार्यको मुहारमा त्यति चमक थिएन । ‘खुसी भन्दा बढी भावुक देखिन्थ्यो हरिको अनुहार’ जन्ती भएर गएका हरिवंशका नजिकका साथी कलाकार किरण केसीले भने-’समाजले के भन्ला, मैले किन यसो गरें भन्ने खालको भाव बढी थियो ।’
श्रीमती मिरा आचार्यको निधन भएको डेढ वर्षपछि बिहीबार दोस्रो विवाह गर्दा हरिवंश त्यति प्रफुल्ल देखिएका थिएनन् । मैले कतै गल्ती त गरिरहेको छैन भन्ने भाव उनको अनुहारमा देखिन्थ्यो । जन्ती गएका साथीभाइ र इष्टभित्रले ढाडस दिइरहँदा उनले जबर्जस्ती बनावटी मुस्कान दिएका थिए । ‘हरिवंशमा भन्दा भाउजुको अनुहार अलि बढी उज्यालो देखिन्थ्यो’ केसीले भने-’अन्माउने बेला त भाउजु धेरै रुनुभयो, हामीले धेरै सम्झायौं ।’
बुटवलकी एकल महिला रमिला पाठकसँग कलाकार हरिवंश आचार्यले दोस्रो विवाह गरेका हुन् । ऊबेला मिराको निधन हुँदा हरिवंशको आँखामा देखिएको आँशु र पत्नी वियोगमा उनले गरेको वेदना सम्झनेहरुलाई यो विवाहले आश्चर्य पनि बनाएको छ । कतिले पत्नी मिराप्रति हरिवंशले देखाएको माया बनावटी रहेछ, डेढ वर्षमै अर्को विवाह गर्यो, पुरुषहरु यस्तै हुन्, हरिवंशको शाख गिर्यो भनेर प्रतिकृया व्यक्त गरेका छन् । तर कतिपयले यसलाई हरिवंशको महान काम भनेका छन् । चेतनामुलक टेलिचलचित्रहरुमा विधुवा विवाहको बारेमा सामाजिक सन्देश दिने कलाकार स्वयंले व्यवहारमा यस्तो देखाउनु उदाहरणीय काम भएको प्रतिकृया पनि आएको छ । हरिवंशको अनुहारमा देखिएको भाव जस्तै उनले दोस्रो विवाह गरेपछिको प्रतिकृया पनि यस्तै मिश्रति छ ।
लगन जुराउनै गाह्रो
पत्नी मिरा आचार्यको निधनपछि हरिवंश साँच्चै विक्षिप्त अवस्थामा पुगेका थिए । मिराको झल्कोले पिरोल्न नछोडेपछि उनी पुरानो घर छाडेर भक्तपुरको बालकोटमा बस्न पुगे । उनलाई सम्हाल्न परिवारका सदस्य र आफन्तलाई मात्रै होइन, उनका सहकर्मी कलाकारलाई समेत निकै हम्मे भयो । ‘मिरा भाउजुको निधनपछि हरिवंशको जीवन साँच्चै अन्धकार भएको थियो’ किरण केसीले भने-’हामीसित सधैं दुःख मनाउ गथ्र्यो, उसको दुःख देखेर हामीलाई खपीनसक्नु बनायो ।’
निकै सृजनशील काम गर्ने हरिवंशको यो अवस्थाले उनका सहकर्मी र परिवारजनलाई निकै दुःखी बनायो । उनका जोडी मदनकृष्ण श्रेष्ठ झन् बढी तनावमा थिए । मह जोडी निर्मित टेलिचलचित्र र अरु कार्यक्रममा हरिवंशले नै बढी सृजनात्मक काम गर्थे । त्यसकारण हरिवंशको सृजना मर्न नदिन र उनलाई सृजनशिल कामको वातावरण बनाउन मदनकृष्णले धेरै सोचविचार गरे । यस्तै सोचाई बनाउँदै जाँदा मदनकृष्ण र अरु हाँस्य कलाकारको नजर बुटवलकी रमिला पाठकमा पुग्यो । पाठककी श्रीमानको १० वर्षअघि निधन भएको थियो ।
हरिवंशलाई थाहा नदिईकन पहिले उनीहरुले पाठकको परिवारसित कुरा गरे । त्यसपछि हरिवंशसित पनि कुरा भयो । ‘पहिले हरिवंशले मानेको थिएन, समाजले के भन्छ भन्ने डर थियो ऊसमा’ किरण केसीले भने-’हामी र परिवारले निकै सम्झायौं, मदन दाइले अझै धेरै सम्झाउनुभयो ।’
हरिवंश दोधारमा परिरहँदा उनका छोराहरु, परिवार र आफन्त तथा साथीभाइले निकै फकाए । झण्डै ५ महिनाको प्रयासमा मात्र हरिवंशको दोस्रो विवाह सम्भव भयो । ‘यो विवाह समाज परिवर्तनको एउटा नमूना पनि हो’ केसीले भने-’यसले हरिवंशको सृजनशिलता फेरि बढ्ने र उसको पारिवारिक वातावरण राम्रो हुन्छ भन्ने आशा छ, यसो भन्दैमा उसले मिरा भाउजुलाई बिर्सेको भनेर कदापी मान्न सकिँदैन ।’
समाजको डर हुँदाहुँदै पनि हरिवंशले दोस्रो विवाह गरेका छन् । उनको यो कदमले जेजस्तो प्रतिकृया उब्जाएपनि यसले उदाहरणीय काम गर्न भने पक्कै पनि प्रेरित गरेको मान्न सकिन्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment