Main Option : Watch live cricket,football,FM,T.V and download music

Wednesday, 4 July 2012

नेपाली विद्यार्थी गन्तव्यः विदेश

    अहिले उच्च शिक्षाका निम्ति पाइलैपिच्छे कलेज खुलेका छन् भने विषय छनौटमा पनि खुम्चनुपर्ने अवस्था छैन। छानीछानी मनपर्दो विषय अध्ययन गर्न पाइन्छ। यति हुँदाहुँदै पनि पढ्नका लागि भन्दै विदेश जाने नेपाली विद्यार्थीको संख्या आश्चर्यजनक रूपमा बढ्दो छ। विदेशी डिग्रीसँगै कमाइको अवसर समेत खोज्दै नेपाली विद्यार्थीहरू समुद्रपारिको यात्रा तय गर्छन्। यससँगै विकसित मुलुकको सम्पन्नता, वैभव, जीवनशैली एवं भौतिक सेवा-सुविधाले पनि नेपाली विद्यार्थीको मन तान्ने गरेको छ।

  अमेरिका
    अब्रोड स्टडीका निम्ति अमेरिका पहिलो रोजाइमा पर्ने गरेको छ। हाबर्ड, पि्रन्सटन, याले स्ट्यान्डफोर्डजस्ता विश्वमै चर्चित विश्वविद्यालयहरू रहेको अमेरिकामा गएर उच्च शिक्षा हासिल गर्न पाउनुलाई नेपाली विद्यार्थीले सुखद् अवसरका रूपमा लिने गरेका छन्। विश्वचर्चित विश्वविद्यालयहरूमा महँगो शुल्क लाग्ने भएकाले नेपालका केही विद्यार्थीले मात्र छात्रवृत्तिमा यस्ता विश्वविद्यालयमा अध्ययनको अवसर पाउँछन्। तुलनात्मक रूपमा केही सस्तो शुल्क लाग्ने विश्वविद्यालय/कलेजहरूमा नेपाली विद्यार्थीहरूले अध्ययन गर्ने गरेका छन्। ती विश्वविद्यालय/कलेजहरूमा २० हजार अमेरिकी डलरसम्म खर्च गरेर अध्ययन गर्न सकिन्छ। अमेरिका पढ्न जाने सपना जति लोभलाग्दो छ, प्रक्रिया उत्तिकै कठिन पनि छ। अन्य मुलुकको तुलनामा अमेरिका जाने विद्यार्थीहरूले बढी झमेला सामना गर्नुपर्ने हुन्छ। अमेरिकामा अध्ययन गर्न जान आफ्नो अध्ययनको उद्देश्य, व्यक्तिगत परिचय झल्कने लेख, तस्बिर, राहदानी, प्रायोजक, एकवर्षे पढाइ खर्च र बसाइसहितको बैंक व्यालेन्स आवश्यक हुन्छ। त्यस्तै, प्रमाणपत्र तथा एसएलसी र सो भन्दा माथिल्लो तहका प्रमाणित प्रतिलिपि चाहिन्छ। भर्ना हुनुपूर्व आफूले पढ्ने विषय र तहअनुसारका भाषागत परीक्षाहरू टोफेल, आइइएलटीएस, स्याट आदिमा कलेजले चाहेअनुसारको प्राप्तांक हासिल गरी त्यसको प्रमाण पेस गर्नुपर्ने हुन्छ।



 अस्ट्रेलिया 

 पछिल्लो समय अस्ट्रेलिया सर्वाधिक विद्यार्थीको रोजाइभित्र पर्ने गरेको छ। भिसा प्रक्रियामा कडाइ भए पनि शिक्षा मन्त्रालय छात्रवृत्ति शाखामा भेटिने अधिकांश विद्यार्थी अस्ट्रेलिया जाने दौडधुपमा भेटिन्छन्। विगतमा अस्ट्रेलियाको यात्रा त्यति कठिन थिएन। त्यही मौकाको फाइदा उठाउँदै विद्यार्थी भिसामा कमाउन जानेहरूको संख्या बढेपछि अस्ट्रेलियाले भिसा प्रक्रियामा कडाइ गरेको हो। फलतः अस्ट्रेलियाले १६ वटा बैंकबाट घटाएर दुईवटा बैंकको आर्थिक दस्तावेजलाई मात्र मान्यता प्रदान गर्‍यो। यतिबेला अस्ट्रेलिया जान चाहने विद्यार्थीले नबिल र एसबीआई बैंकबाट मात्र आर्थिक दस्तावेज बनाउन पाउँछन्। यसको सोझो असर ग्रामीण क्षेत्रका विद्यार्थीलाई परेको छ, जहाँ यी दुई बैंकको शाखा छैनन्। पढ्न जाने विद्यार्थीले आफ्ना सहयोगीका रूपमा डिपेन्डेट भिसामार्फत पति वा पत्नीलाई लान पाउने सुविधा छ। त्यसैगरी स्थायी बसोबासको प्रक्रिया पनि सहज छ। स्नातक तहको पढाइपछि पर्मानेन्ट रेसिडेन्सका निम्ति आवदेन दिन सकिने व्यवस्था छ। रङ्गभेदरहित समावेशी समाज भएकाले नेपाली विद्यार्थीहरूलाई त्यहाँको समाजमा घुलमिल हुन सजिलो हुन्छ।

 बेलायत

 अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने लक्ष्यका साथ टायर फोर नीति लागू भएपछि बेलायत जाने नेपाली विद्यार्थीको चाप पनि केही वर्षअघि थामिनसक्नु थियो। यद्यपि अहिले अवस्था त्यस्तो छैन। पढाइ र कमाइको सोचले बेलायत भासिएका विद्यार्थीहरूको लक्ष्य पूरा हुन नसकेपछि त्यसतर्फ जाने विद्यार्थीको संख्या ह्वात्तै घटेको छ। बेलायत पुगेका नेपाली विद्यार्थीहरू बिचल्लीमा परेको समाचार समेत अहिले चर्चाको विषय बनेको छ। जे भए पनि बेलायत विश्वकै उत्कृष्ट शैक्षिक गन्तव्य हो। त्यहाँ विश्वचर्चित विश्वविद्यालयहरू छन्। लिभरपुल जोन मुरेस युनिभर्सिटी, म्यारिटाइम ग्रीनबीच कलेज तथा साउथ वेल्स युनिभर्सिटीजस्ता कलेजमा नेपाली विद्यार्थीहरू अध्ययनका लागि जाने गरेका छन्। बेलायत जानुअघि आफ्नो रुचिको विषय, क्षमतालाई आधार बनाएर कलेजको छनौट गर्नुपर्छ। कलेज छनौट गरिसकेपछि त्यहाँको वस्तुस्थितिका सम्बन्धमा जानकारी लिनुपर्छ। भर्ना हुनुअघि तहअनुसारको शैक्षिक योग्यता र भाषास्तर हासिल गर्नुपर्छ। भाषासम्बन्धी योग्यताको मापदण्ड कलेज वा विश्वविद्यालयअनुसार फरक हुने भए पनि प्रायः शैक्षिक संस्थाले स्नातक तहसम्मका लागि आइइएलटीएसमा ५ दशमलव ५ तथा त्यसभन्दा माथिको तहका लागि ६ दशमलव ५ अंक चाहन्छन्। क्यानाडा 'जेन्युन' विद्यार्थीका लागि क्यानाडा राम्रो शैक्षिक गन्तव्य हो। बीबीए, एकाउन्टिङ, वायोलोजी, फिजिक्स, क्यामेस्टी्रलगायतका विषयमा अध्ययन गर्नका लागि यो उपयुक्त थलो मानिन्छ।

क्यानाडामा

 अन्तर्राष्ट्रिय विद्यार्थीले फ्रेडल स्किल वर्करका रूपमा बस्न पाउने व्यवस्था छ। यसअन्तर्गत पति/पत्नी र २२ वर्षभन्दा कम उमेरका छोराछोरीलाई समेत साथै लगेर क्यानाडामा बसोबास गर्न सकिन्छ। तोकिएको केही मापदण्ड पूरा गरेपछि इमिग्रेसनको प्रक्रिया अघि बढाउन सकिन्छ। शैक्षिक योग्यताको प्रमाणपत्र, उमेर, काम गरेको अनुभव, भाषा, समायोजन क्षमताजस्ता कागजात पेस गरेर इमिग्रेसनका लागि अप्लाइ गर्न सकिन्छ। त्यस्तै कसैले क्यानाडामा कामका लागि अफर गरेको भए इमिग्रेसन प्रक्रिया बढाउन निकै सजिलो हुन्छ। क्यानाडा जान शैक्षिक योग्यताको प्रमाणपत्रसहित आइइएलटिएस गर्नुपर्ने हुन्छ। आइइएलटिएसमा न्यूनतम ५ दशमलव ५ स्कोर हासिल गरेको, शैक्षिक योग्यताको प्रमाणपत्र आदि आवश्यक कागजात अध्ययन गर्न चाहेको कलेजमा पेस गर्नुपर्छ। कलेजले चाहेका कागजात प्राप्त गरेपछि आइ ट्वाइन्टी (अफर लेटर जस्तै) पठाउँछ। आइ ट्वाइन्टी प्राप्त भएपछि भिसाका लागि थप प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ। शैक्षिक योग्यताका प्रमाणपत्र, आर्थिक दस्तावेज एवं बैंक ब्यालेन्सलगायत आवश्यक कागजात भारतस्थित हाइकमिसनमा पठाउनुपर्छ। सम्पूर्ण कागजात सही ठहरिए वा शैक्षिक योग्यता पुगे भिसा पाइने सम्भावना हुन्छ।


 न्युजिल्यान्ड 

 एग्रिकल्चर, एकाउन्टिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्टजस्ता आकर्षक विषयमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हो- न्युजिल्यान्ड। आफूले अध्ययन गर्न चाहेको कलेज एवं विश्वविद्यालयबाट अफर लेटर आएपछि न्युजिल्यान्डमा अध्ययनको ढोका खुल्छ। त्यसपछि पढ्न एवं बस्नका लागि आवश्यक रकम बराबरको बैंक व्यालेन्स, आयस्रोत, सिए रिपोर्ट, प्रहरी रिपोर्ट पेस गरेर भिसाका लागि प्रक्रिया अगाडि बढाउन सकिन्छ। डिप्लोमा तहको कोर्स गर्न जाने विद्यार्थीले भाषा एवं बौद्धिक क्षमताको परीक्षा आइइएलटिएसमा न्यूनतम ५ दशमलव ५ अंक हासिल गर्नुपर्ने हुन्छ। ब्याचलर गर्न जानेले आइइएलटिएसमा ६ स्कोर र मास्टर्स डिग्री गर्न जानेले ६ देखि ७ स्कोरसम्म हासिल गरेकै हुनुपर्छ। त्यस्तै, नर्सिङ अध्ययनका लागि जानेले न्यूनतम ७ स्कोर हासिल गर्नुपर्ने प्रावधान छ।

 न्युजिल्यान्डमा अध्ययन गर्न जान सुरुको वर्ष सरदर ७ देखि ८ लाखसम्म रुपैंयाँ ट्युसन फी लाग्छ। नेपाली विद्यार्थीहरू अक्सर एनजेडएमए, एआइएस सेन्ट हेलेन्स, वाइरिकी इन्स्टिच्युट अफ टेक्नोलोजी आदिमा जाने गरेको पाइन्छ। न्युजिल्यान्डमा डिपेन्डेट भिसामा आफ्ना पति वा पत्नीलाई साथै लान पाउने व्यवस्था छ। न्युजिल्यान्डमा अध्ययन गर्ने विद्यार्थीले वैधानिक रूपमा हप्ताको २० घन्टा काम गर्ने अवसर पाउँछन्। 

भारत 

 यावत् प्रतिकूलतासँगै भारत जाने प्रक्रिया सहज हुनु, गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्नु, विषयको विकल्प धेरै हुनुले नेपाली विद्यार्थीहरू त्यसतर्फ सोझिएको पाइन्छ। भारत जाने विद्यार्थीले अन्य मुलुकमा जस्तो भिसाको प्रक्रियामा अल्झिनु पर्दैन। न त 'नो अब्जेक्सन लेटर' नै लिनुपर्छ। भाषिक तथा सांस्कृतिक समानतासँगै तुलनात्मक रूपमा यो मुलुक कम खर्चिलो पनि छ। त्यसैले गर्दा बर्सेनि ठूलो संख्यामा नेपाली विद्यार्थीहरू भारत पस्ने गरेका छन्। गत वर्ष मात्र करिब २० हजार नेपाली विद्यार्थी भारत गएको वाइड्रेन कन्सल्टेन्सीका सिइओ सुदीप नायकको अनुमान छ। स्कुल तह अध्ययनका लागि संभ्रान्त एवं शिक्षित परिवारका छोराछोरी पूर्वोत्तर भारतका दार्जीलिङ, गान्तोक जाने गरेको पाइन्छ। उच्च शिक्षाका लागि भने बैङ्लोर प्राथमिकतामा पर्ने गरेको छ। बैङ्लोरपछि नेपाली विद्यार्थीले दिल्ली, म्याङ्लोर, पुणे, चेन्नाई, पञ्जाव, देहरादून, नैनीताल, मुम्बई अध्ययनको गन्तव्य बनाउँदै आएका छन्। भारतका कलेज-युनिभर्सिटीमा नेपालबाट दुई थरीका विद्यार्थी जाने भारतीय शिक्षामा लक्षित कन्सल्टेन्सी सञ्चालन गरिरहेका परामर्शदाताहरू बताउँछन्। उच्च शैक्षिक योग्यता भएका नेपाली विद्यार्थीहरू भारतको सरकारी युनिभर्सिटीअन्तर्गतका कलेजहरूमा भर्ना हुने गरेका छन्। यो कोटीका विद्यार्थीहरू इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी, जेएनयु आदिमा भर्ना हुने गरेका छन्। यी विद्यार्थीहरू कन्सल्टेन्सीको सहायताबिना नै भर्ना हुने गरेका छन्। सीमित संख्यामा प्राप्त हुने छात्रवृत्तिमा नाम निकाल्न सके खान-बस्नसहित निःशुल्क पढ्न पाइने भएकाले उनीहरू छात्रवृत्तिका लागि भिड्छन्। धेरैजसो नेपाली विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि भारत जाने गरेका छन्। मेकानिकल, आइटी, एरोनेटिकल, कम्प्युटर साइन्स, सिभिल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनजस्ता विषय अध्ययनका लागि विद्यार्थीहरूले भारतलाई प्राथमिकतामा राख्ने गरेका छन्। त्यसबाहेक बीएस्सी नर्सिङ मेडिकल कोर्सका लागि पनि भारत जाने गरेको पाइन्छ। वैकल्पिक चिकित्सा अध्ययनका लागि भारत जाने विद्यार्थीको संख्या उल्लेख्य रहेको डा. हेमराज कोइरालाले बताए। ब्याचलर इन फिजियोथेरापी, ब्याचलर अफ नेचुरोप्याथी एण्ड योगा, ब्याचलर अफ आयुर्वेदिक मे डिसिनजस्ता विषय अध्ययनका लागि म्याङ्लोर पुग्ने विद्यार्थी अत्यधिक रहेको डा. कोइराला बताउँछन्।

No comments:

Post a Comment