Main Option : Watch live cricket,football,FM,T.V and download music

Friday 11 November 2011

'मोबाइल, फेसबुकबाट चिनापर्ची बढाएर धोका दिने महिला बढ्दो'

परदेशबाट फुरुंग हुँदै घर फर्किएका मोरङ, राजघाट-७ का पूर्णबहादुर गुरुङको खुसी तीन दिन राम्रोसँग टिकेन। वर्षौंपछि भेट भएकी श्रीमती परपुरुषसँग लागेको घटनाले उनलाई दुःखी तुल्यायो।

श्रीमती अर्कैसँग लहसिएपछि दुई-चार वर्ष खाडी मुलुकमा काम गरेर धन कमाएका गुरुङ निराश भएका छन्। 'श्रीमतीलाई सुखसयलमै राखेको थिएँ,' प्रहरी कार्यालयमा पत्नीको हुलियाबारे जाहेरी दिन आउँदा उनी भावुक भए, 'लटिपटी सबै लिएर गई।' विदेशबाट पटक-पटक पठाएको तीन लाखभन्दा बढी रकम श्रीमतीले अनाश्यक खर्च गरेको उनले बताए।
दुई सन्तानकी आमा दिलकुमारीले त्यो रकम मोजमस्तीमै खर्च गरिन्। पूर्णबहादुरका अनुसार ३० वर्षीया दिलकुमारी उर्लाबारी-४ का आफूभन्दा झन्डै ९ वर्ष कान्छा सोमनाथ ढुंगेलसँग 'पोइल' गइन्। गत वैशाख महिनायता राजघाट-७ मा यस्तै तीन घटना भए।

दाजु विदेशिएको मौका छोपी खड्का थरका एक व्यक्तिले एकाघरकी भाउजुलाई भगाए। सोही गाउँमा चार वर्षदेखि श्रीमान् विदेश रहेकै बेला एक महिलाले परपुरुषसँगको सम्पर्कबाट बच्चा जन्माइन्।

४० वर्षीया मगर थरकी ती महिलाले दमक बस्ने एक युवकसँगको सम्बन्धबाट बच्चा जन्मिएको स्वीकार गरेपछि उनलाई उक्त व्यक्तिको जिम्मा लगाइएको राजघाटका बलबहादुर घिसिङले बताए। अमरदह-४ का मिलन गुरुङ बहराइन गएका मात्र के थिए, छिमेकी दयाराम दाहालले उनकी श्रीमती मीनासँग 'हिमचिम' बढाउन सुरु गरे। तीनवर्षे काखे छोरीलाई छाडेर मीनाले दाहालसँग बहुविवाह गरिन्।

प्रहरीको सहयोगमा श्रीमतीले लगेको गरगहना र रकमबापत १ लाख ६० हजार लिएर गुरुङले चित्त बुझाए। अनैतिक सम्बन्ध गाउँभरि फैलिएपछि बाध्य भएर २२ वर्षीय दाहालले आफूभन्दा आठ वर्ष जेठी मीनालाई श्रीमती स्वीकार्न बाध्य भए।

पूर्वी मोरङका स्थानीय प्रहरी कार्यालयमा श्रीमान्-श्रीमतीका 'संयोगान्त क्षण टुंगिए'का घटनाको उजुरी बढेको छ। प्रहरीका अनुसार वैदेशिक रोजगारमा गएका युवा सबैभन्दा बढी आफ्नै श्रीमतीबाट प्रताडित हुने गरेका छन्।

खाडी गएका पुरुषले मुलुकमा 'रेमिट्यान्स' भिœयाए पनि पारिवारिक विखण्डन बढ्दै गएको छ। 'शारीरिक आवश्यकता पूरा गर्न परपुरुषसँग लागेर श्रीमान्लाई छाड्ने गरेको पाइयो,' इलाका प्रहरी कार्यालय उर्लाबारीका निरीक्षक श्यामसारु मगरले भने, ' श्रीमान्ले पठाएको पैसा परपुरुषसँग मोजमस्ती गरेर सिध्याएको उदाहरण धेरै छन्।'

श्रीमान् विदेशिएको केही समयमै परपुरुषसँग लाग्ने र श्रीमान्ले पठाएको रकम लिएर हिँड्ने गरेका कारण विदेश गएका पुरुष पीडित बनेको उजुरी धेरै आउने गरेको मगरले बताए। 'मोबाइल सजिलो माध्यम बनेको छ,' मगरले भने, 'इमेल, फेसबुकको माध्यमबाट 'कन्ट्याक्ट' मिलाएर विदेश गएका श्रीमान्लाई धोका दिने महिलाको संख्या दिनप्रतिदिन बढेको छ।' यस्ता घटना यौन आवश्यकता पूर्ति गर्नकै निम्ति भएका प्रहरीले जनाएको छ।

'अवैध' सम्बन्ध पर्दाफास भएपछि धेरैजसोले बिहे गर्ने गरेका छन्। मगरका अनुसार गाउँमा 'डिभोर्स' का घटना सामान्य बन्न थालेका छन्। 'छलफलपछि कतिपयको मुद्दा यहीँ टुंग्याउँछौं,' मगरले भने, 'नमिलेका मुद्दा चाहिँ अदालततिरै पठाउने गरेका छौं।'


मोरङ जिल्ला अदालतमा आर्थिक वर्ष २०६७-६८ मा २ सय ८१ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्। जसमध्ये ६० प्रतिशतभन्दा बढी विदेशबाट फर्किएका युवाले श्रीमतीसँग पारपाचुके गर्न निवेदन दिएका मुद्दा छन्।

No comments:

Post a Comment