Main Option : Watch live cricket,football,FM,T.V and download music

Wednesday 16 November 2011

बेलायतका संबेदनशील क्षेत्रमा पूर्व गोर्खाको सुरक्षा

पूर्व गोर्खाहरुलाई बेलायतमै वसोवास गर्ने सुबिधा दिएसंगै नेपालमा भएको सम्पत्ति बेचबिखन गरेर बेलायत आएका पूर्व गोर्खाहरुले यहाँका संबेदनशील क्षेत्रमा सुरक्षागार्डको काम गरिरहेका छन् ।

बुढ्यौली उमेरसम्म पनि काममा खटिरहेका कारण पूर्व गोर्खाको आर्थिक अबस्था पनि मजबुद छ । बेलायतले पूर्व गोर्खाका लागि कल्याणकारी सुबिधा दिने रकमबारे अझै बिबाद भइरहेको छ । हालै गरिएको एक अध्ययनले भने बेलायतमा कामकाजी उमेरका पूर्व गोर्खाहरु निकै सक्रिय र आत्मनिर्भर रहेको देखाएको छ ।

केन्ट रिसर्स बिश्वबिद्यालयले गरेको अध्ययनअनुसार अधिकांश पूर्व गोर्खाहरु रोजगारीमा छन् । ६० बर्षभन्दा कम उमेरका गोर्खा पुरुषमा ९५ प्रतिशत र सोही उमेरका महिला गोर्खाहरुमा ९३ प्रतिशत रोजगारीमा रहेको देखाएको छ ।

पुरुष गोर्खाहरु सुरक्षा क्षेत्रको काममा निकै लोकपि्रय रहेको पाइएको छ । सुरक्षा कम्पनीहरुले पूर्व गोर्खाहरुको मानप्रतिष्ठा र बहादुरीको लाभ लिंदै उनीहरुलाई सुरक्षाको काम लगाइरहेका छन् । सन् २००७ मा ग्रुप ४ सेक्युरिटीले पूर्व गोर्खालाई सेवामा लिन सुरु गरेको थियो, जहाँ अहिले ६ सय भन्दाबढी गोर्खाहरुले काम गरिरहेका छन् । उनीहरुले बेलायतको बिजुली स्टेशन र रेलवेजस्तो संबेदनशील क्षेत्रको सुरक्षामा तैनाथ भएका छन् । बिरोध प्रर्दशन, चोरी र हुलदंगा हुन नदिनु उनीहरुको काम हो ।

पूर्व गोर्खाहरुलाई तैनाथ गरेपछि अपराध रोकिन्छ भन्ने आम धारणा बनेको छ । ग्रुप ४ को प्रतिद्वन्द्वी ओक्टाभियनले सन् २००५ मा पहिलोपटक पूर्व गोर्खाहरुलाई काममा लिन सुरु गरेको हो । त्यसबेलादेखि पूर्व गोर्खाहरुलाई अपराधग्रस्त कार पार्कमा तैनाथ गरिएको थियो, जहाँ अहिले अपराध सून्यमा झरेको कम्पनीको दावी छ । ओक्टाभियनको कर्मचारीका रुपमा काम गरिरहेका टे भुवासिंह लिम्बुले सुरक्षाक्षेत्रको काम गर्नु रमाइलो हुने बताए । कम पारिश्रमिक र गाह्रो समयमा काम गर्नु परेपनि उनीहरु सुरक्षा क्षेत्रकै काम गर्न रुचाउँछन् ।

केन्ट बिश्वबिद्यालयकी अनुसन्धानकर्ता निना गुरुङले भनिन-’धेरै पूर्व गोर्खालाई भाषाको समस्या होला तर उनीहरु बोल्नुपर्ने खासै काम हुँदैन, आफ्नो काम सक्छन र घर फर्किन्छन् ।’ सुरक्षागार्डका रुपमा पूर्व गोर्खामात्र हैन उनीहरुका छोराछोरी पनि काम गरिरहेका छन् । २२ बषिर्य प्रेम देवानले पनि सुरक्षागार्डकै काम गर्दै आएका छन् ।

४२ बषिर्य तारा गुरुङ भन्छिन- मेरा श्रीमान, म र छोरा सेक्युरिटीको काम गर्दै आएका छौं, म आफ्नो कामप्रति गर्व गर्छु ।’

अधिकांश बेलायतीहरुलाई गोर्खा सैनिकका बारेमा केही न केही जानकारी छ । बहादुर नेपाली सैनिकले २ सय बर्षसम्म बेलायती सैनिकमा महत्वपूर्ण योगदान दिएका छन् ।

बेलायतका लागि बलिदानी दिएका उनीहरु बेलायतमै बस्नका लागि गर्नुपरेको संर्घष धेरैलाई सम्झना छ । चर्चित अभिनेत्री जोना लुम्लेको अभियानका कारण सन् २००९ मा बेलायत सरकारले उनीहरुलाई बेलायत बस्ने सुबिधा दिएका थियो । सन् २००९ मा मात्र नौ हजार आबेदकलाई बेलायत बस्न अनुमति दिइएको थियो ।

पूर्व गोर्खाको आगमनसँगै समाजका बिभिन्न पक्षमा पर्ने प्रभावका कारण यहाँ बिबाद पनि हुने गरेको छ । एल्डरसटको कुल जनसंख्याको १० प्रतिशत त नेपालीहरु नै छन् ।

(बीबीसीको रिपोर्टमा आधारित)

No comments:

Post a Comment