Main Option : Watch live cricket,football,FM,T.V and download music

Tuesday 6 December 2011

अस्ट्रेलियाको शैक्षिक उद्योगमा चम्किएका नेपाली

ऋषि आचार्य, सिड्नी,
      अस्ट्रेलियाको समाजमा विद्यार्थी र नव आप्रवासी भनेर चिनिएका नेपालीको परिचय अब बिस्तारै व्यवसायीका रुपमा फेरिँदै छ । ग्रोसरी, रेस्टुरेन्ट, ट्राभल, रियल स्टेट हुँदै शिक्षा क्षेत्रमा पनि लगानी गरेर अस्ट्रेलियाका नेपालीले आफूलाई व्यवसायिक रुपमा रुपान्तरण गरिरहेका छन् । तेस्रो ठूलो उद्योगको दर्जा पाएको यहाँको शैक्षिक क्षेत्रमा अरबौँ डलरको लगानी छ । एसिया, युरोप, दक्षिण अमेरिकाका अन्तरर्राष्ट्रिय विद्यार्थीको उच्चशिक्षाको रोजाइको देश अस्ट्रेलिया बनिरहेको छ । सन् २००९ मा यो उद्योगले १६ बिलियन डलरको कारोबार गरेको थियो ।

अस्ट्रेलियाको शैक्षिक उद्योगमा हात हालेर नेपाली व्यवसायीलाई बाटो देखाउने काम गरेका थिए, शेष घलेेले । नेपालमा इन्जिनियर पेशामा संलग्न घले उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका थिए । अध्ययन सकिएपछि एक निजी शैक्षिक संस्थामा काम गर्दाको अनुभवले उनलाई आफ्नै स्वामित्वमा कलेज सञ्चालन गर्ने हिम्मत मिल्यो । सन् १९९६ मा श्रीमती जमुना घलेका साथमा उनले मेलबर्न इन्स्िटच्युट अफ टेक्नोलोजी (एमआईटी) स्थापना गरे । सिड्नी मेलबर्नमा क्याम्पस रहेको एमआईटीमा बिजनेस, आइटी, म्यानेजमेन्ट र एकाउन्टेन बिषयमा डिप्लोमादेखि मास्टरसम्म पढाइ हुन्छ । सन् २०१० देखि एमआईटीले विश्वविद्यायल स्तरको गुणस्तरीय शिक्षा दिने संस्थाको मान्यता पाएको छ । घले भन्छन्, "सन् २०१५ सम्ममा एमआईटीलाई विश्वविद्यालयको रुपमा स्थापित गराउछौं ।" अहिले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या घट्दै गएकाले स्थानीय विद्यार्थीलाई आकर्षण गर्न स्थानीय बजारको माग अनुसारको विषयहरु पढाइ शुरु गरिएको घले बताउँछन् । आगामी वर्षहरुमा एमआईटीका क्याम्पसहरु अन्य शहरहरुमा पनि बिस्तार गर्ने योजना रहेको उनले बताए ।

नेपालमा लामो समय शैक्षिक क्षेत्रमा काम गरेका प्रदीप ढकालले अस्ट्रेलिया आएपछि पनि यो क्षेत्रलाई छोड्न सकेनन् । यहाँका विभिन्न शैक्षिक संस्थामा अध्यापनपछि सन् २००२ मा उनले आˆनै स्वामित्वमा प्यासिफिक कलेज अफ टेक्नोलोजी सञ्चालनमा ल्याएका थिए । प्राविधिक शिक्षाको माग र बजार देखेर उनले यो कलेजको स्थापना गरेका हुन् । स्थानीय बजारलाई आवश्यक दूरसञ्चार, सूचनाप्रविधि विषयका जनशक्ति कलेजले उत्पादन गरेको ढकाल बताउँछन् । कलेजमा अहिले चीन, भारत, बंगलादेश, भियतनामलगायत देशका करब ६ सय विद्यार्थी अध्ययनरत छन् । स्थानीय विद्यार्थीको मागअनुसार बिजनेश एकाउन्टेन्ट र म्यानेजमेन्ट विषय पनि यहाँ पढाइ हुन्छ । मौसमझैँ परिवर्तन भैरहने अस्ट्रेलियाको आप्रवास नियमले गर्दा सन् २०१२ पछि निजी शैक्षिक क्षेत्र प्रभावित हुने देखिन्छ तर स्थानीय विद्यार्थीहरुको भर्ना शुरु भएकाले खासै असर नपर्नेमा ढकाल ढुक्क छन् । गुणस्तरीय शिक्षा र स्थानीय समुदायलाई सेवा गरेको भन्दै यो वर्षको लोकल बिजनेश अवार्ड कलेजले पाएको थियो ।

निर्माण व्यवसायदेखि कलेजसम्म
हङकङको टिङमा बि्रज, आइएफसी-२ -हङकङको सबैभन्दा अग्लो भवन) र हङकङ विमानस्थलको नयाँ टर्मिनल निर्माणमा संलग्न दीपक खड्काको अस्ट्रेलिया आएपछि भने परिचय फेरिएको छ । पेशाले इन्जिनियर खड्काले अस्ट्रेलियामा भने शैक्षिक क्षेत्रमा हात हालेका छन् । नेपालको दोलखा जिल्लाको दुर्गम गाउँमा जन्मेको भए पनि शिक्षा पाएकै कारण आफू यहाँसम्म आउन सफल भएकाले शिक्षामा लगानी गर्न आफू उत्साहित भएको खड्का बताउँछन् । "सानैदेखि शैक्षिक क्षेत्रमा काम गर्ने लक्ष्य बनाएको थिएँ, त्यसैको नतिजा भन्नुपर्छ- क्राउन इन्स्िटच्युट अफ बिजनेश एण्ड टेक्नोलोजी", दीपक बताउँछन् ।

सन् २००७ मा स्थापना भएको यो कलेजमा अहिले ३ सय ५० विद्यार्थी अध्ययनरत छन् । सूचना प्रविधि, बिजनेश, म्यानेजमेन्टदेखि हस्पिटालिटी विषय यहाँ पढाइ हुन्छ । गुणस्तरीय शिक्षालाई प्राथमिकता दिएकै कारण यहाँबाट उत्पादित विद्यार्थीहरु कर्पोरेट सेफदेखि निजी रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन् । सानैदेखि प्राविधिक तथा व्यवसायिक शिक्षामा रुचि भएकाले नेपालमा पनि प्राविधिक शिक्षामा अझै धेरै गर्नुपर्ने भएकाले भविष्यमा नेपाल केन्दि्रत लगानी बढाउने योजना उनले बनाएका छन् ।

मेलबर्नमा गोर्खाको शान
अस्ट्रेलियाको मेलबर्नमा नेपालीको बसोबास पुरानो नभए पनि यहाँ आˆनो पहिचान र उपस्थितिलाई भने दह्रो बनाएका छन् । नेपालदेखि नै होटल तथा रेस्टुरेन्ट व्यवसायमा अनुभव बोकेका चन्द्र योञ्जनले पारिवारिक व्यवसायको रुपमा ६ वटा गोर्खाज् नेपाली रेष्टुरेष्ट सञ्चालन गरेका छन् । २२ वर्षअघि ताप्लेजुङबाट अस्ट्रेलिया आएका योञ्जनले यिनै रेस्टुरेन्टलाई आवश्यक पर्ने सेफ, वेटर तथा अन्य जनशक्तिको उत्पादन तथा तालिमका लागि भनेर स्थापना गरेको गोर्खा इन्स्िटच्युटले अहिले अन्तर्राष्ट्रिय स्तरको कलेजको मान्यता पाएको छ । झण्डै ६ सय विद्यार्थी अध्ययनरत यो कलेजमा सूचना, प्रविधि, फाइनान्स, बिजनेश, हस्पिटालिटी, हेयर ड्रेसिङजस्ता विषयहरुको अध्यापन हुन्छ । नेपाल, भारत, चीनलगायत ३१ देशका विद्यार्थी यहाँ अध्ययनरत छन् । सन् २०१२ सम्ममा एक हजार विद्यार्थी भर्ना गर्ने लक्ष्य राखेर योञ्जनले भियतनाम, कोलम्बिया, चीन, कोरिया तथा ब्राजिलजस्ता देशमा मार्केटिङ गरिरहेको छन् । साथै, स्थानीय विद्यार्थीलाई पनि आकषिर्त गर्न बजारको माग अनुसारका विषयहरुको पढाइ शुरु भएको छ । सरकारी अनुदान तथा ऋण सहयोगमा अध्ययन गर्न चाहनेका लागि ँभेटफि’ सहयोग अनुमति पनि गोर्खाले पाएको छ । जुन स्थानीय धेरै निजी कलेजहरुले पाउन सकेका छैनन् । लक्ष्य उच्च शिक्षा भएकाले आगामी वर्षहरुमा स्नातकका विषयहरुको अध्यापनका लागि पूर्वाधार थप्दै लैजाने उनको योजना रहेको छ ।

शैक्षिक परामर्शकर्ताको रुपमा लामो अनुभव बटुलेपछि सन्तोष पाण्डेले अस्ट्रेलियाको अर्को व्यवसायिक शहर बि्रसवेनमा क्विन्स फोर्ड कलेज सञ्चालनमा ल्याएका छन् । विश्वविद्यालयहरु धेरै रहेको क्विन्सल्याण्डमा कलेज तहको निजी, शैक्षिक संस्थाहरुको माग बढिरहेको बेला पाण्डेले त्यहाँ कलेज सञ्चालन गरेका हुन् । सन् २००८ मा स्थापना भएको यो कलेजमा अहिले विभिन्न १४ देशको करिब ४ सय जना विद्यार्थीहरु अध्ययनरत छन् । निजी शैक्षिक संस्थाहरुमा पढाइ हुने बिजनेश, हस्पिटालिटी, अंग्रेजी भाषा, म्यानेजमेन्टजस्ता विषयहरुमा यहाँ अध्ययनअध्यापन हुन्छ । युवा व्यवसायी पाण्डे अस्ट्रेलियाको अनुभवका आधारमा नेपालमा पनि निजी शिक्षामा लगानी गर्ने योजनामा छन् ।

ग्लोबल कलेजमा अंग्रेजी भाषा
निकै प्रतिस्पर्धी बन्दै गएको अस्ट्रेलियाको निजी शिक्षामा अंग्रेजी भाषा पढाउनकै लागि भनेर थुप्रै शैक्षिक संस्थाहरु खोलिएका छन् । मेलबर्न र सिड्नीका निजी शैक्षिक संस्थाहरुमा अध्यापनको अनुभव भएका पुना भण्डारीले दुई वर्ष अघिदेखि अंग्रेजी भाषाको कलेज सञ्चालन गरेका हुन् । अस्ट्रेलियाका विश्वविद्यालयहरुमा उच्च शिक्षा अध्ययनका लागि अंग्रेजी भाषाको दक्षता हुनुपर्ने प्रावधानअनुसार अंग्रेजी नबोलिने देशका विद्यार्थीहरुले यहाँ आएर अंग्रेजी भाषाको अध्ययन गर्छन् । बाह्रै महिना कक्षा सञ्चालन हुने ग्लोबल कलेजमा एक सत्रमा ५० जना विद्यार्थीले अध्ययन गर्छन् ।

एक वर्षमा ४ सय जनासम्मले लामो तथा छोटो अवधिको भाषा विषयको अध्ययन पूरा गर्ने गरेका छन् । एउटा तहको अध्ययन सकेर अर्को तहको अध्ययनका लागि कुरेर बसेको विद्यार्थीहरु पनि ग्लोबल कलेजका लक्षित विद्यार्थीहरु हुन् । अंग्रेजी भाषा विषय पढ्न चाहने विद्यार्थीको चाप बढेपछि भण्डारीले धेरै क्षमताको कक्षा कोठा भएको भवन सञ्चालनमा ल्याउँदैछन् । उनी भन्छन्, "अंग्रेजी विषय पढ्न चाहने विद्यार्थी सधैँभरि पाइने भएकाले यो भाषिक कलेज सञ्चालनमा ल्याएका हौं ।

अस्ट्रेलियामा विद्यार्थी र कामदार भनेर हेरिन्थे नेपालीलाई, आज व्यवसायी भनेर चिनिन थालिएको छ । त्यसमाथि शैक्षिक क्षेत्रमा भएको लगानीले अस्ट्रेलियामा नेपाली व्यवसायमा विविधता मात्र ल्याएको छैन, समुदाय पनि आत्मनिर्भर बन्दै गएको पुष्टि गरेको छ ।

No comments:

Post a Comment