Main Option : Watch live cricket,football,FM,T.V and download music

Saturday 14 January 2012

वेनको भ्रमणः गरिवको घरमा खानदानी पाहुना

एकपटक बिचार गर्नुस् त खान्दानी ज्वाईं पहिलोपटक आउँदैछन् भन्ने थाहा पाएपछि ससुराली घरमा के हुन्छ ? परिवारका सबै सदस्य होस हराएको मान्छे झैं छटपटिन थाल्छन् । कोही कसिंगर लगाउन थाल्छन्, कोही पोत्न तम्सन्छन् । महिनौं सफा नभएको आँगन, पिंढी, चोटाकोठा र पाहुनाको आँखा पर्ने सबै ठाउँ सफाचट बनाइन्छ । फलेक खुस्किन लागेको भएपनि खाटमाथि गलैंचा ओछ्याईन्छ । भित्ताको माकुराको जालो हटाईन्छ । स्वागत गर्नेहरु पनि सफाचट भएर बस्छन् । खान्दानी ज्वाईंलाई कसरी खुशी पार्ने भनेर सबैको ध्याउन्न त्यतैतिर हुन्छ।

शुक्रबारदेखि सरकार र मुख्य दलका मान्छेहरु तथा काठमाण्डूको दृश्य ठ्याक्कै यस्तै देखिएको छ । बल्लतल्ल आउन लागेका चिनियाँ प्रधानमन्त्रीको स्वागत सत्कार गर्न र खुशी पार्न हरेक उपाय अपनाइएको छ । अरु दिन फोहोरको डँगुर थुपि्रने र ढल बग्ने काठमाडौंको सडकलाई शनिबार टिलिक्क टल्काइएको छ । बिहानको चिसोमा लुगलुग काम्दै ट्याँकरबाट सडकभरी पानी पोखिएको थियो । चिनियाँ प्रधानमन्त्री हिड्ने सडक रुटमा पर्ने डिभाइडर रातारात हटाइयो । त्यही रुटमा नेपाली र चिनियाँ झण्डा संयुक्तरुपमा फहराउन पनि बिहानैदेखि दौडधुप थियो ।
प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालयल, गृह मन्त्रालय लगायतका मुख्य सरकारी अड्डाका अधिकारीहरु फोन सम्र्पकमा उपलब्ध हुन सक्ने अबस्थामा थिएनन् । पहिले आउँछु भनेर पनि नआएका पाहुना अब त आउने भए भन्ने थाहा पाएपछि सरकारी मान्छेहरु शुक्रबार बेलुकीदेखि नै निद न भोकको अबस्थामा पुगेका थिए ।
परराष्ट्र मन्त्रालयका कतिपय अधिकारीहरु घरमै नगई कार्यालयमै रात कटाए । उनीहरुका टेलिफोन अफ नै छन् । प्रधानमन्त्री र मन्त्रीहरु उत्तिकै दौडधूपमा व्यस्त छन् । तिब्बतीयनहरुले छुस्स केही गरिहाल्लान् कि भनेर सुरक्षा निकायका प्रमुखहरुलाई रातभरी निन्द्रा लागेको छैन । रातिदेखि नै ठाउँठाउँमा सुरक्षाकर्मी खटाईएका छन् ।
तर कसैले सुईंको पाएर बर्बाद नै हुन्छ कि भन्ने पारामा चिनियाँ प्रधानमन्त्री यतिबेला यहाँ जाँदैछन् र यस्तो छलफल हुन्छ भन्ने कसैलाई पत्तो दिइएको छैन । सीमित सञ्चारकर्मीलाई मात्र भेटवार्ता भएको स्थल छिर्न दिइएको छ । सर्वसाधारणलाई पैदल हिड्न गाडी चलाउन नदिई खाली गरिएका सडकमा दर्जनौं सुरक्षागाडीले घेरिएका चिनियाँ प्रधानमन्त्री मध्यान्ह सिंहदरवारतिर लाग्दा छेउँछेउ उभिएका सर्वसाधारण ‘के भएँछ हँ’ भन्ने शैलीमा सोधिरहेका थिए । उनीहरुलाई देशमा चिनियाँ प्रधानमन्त्री आउन लागेको जानकारी नै थिएन् ।
अरु नै कामले अन्तै जान लागेको ज्वाईं एकपटक बाटोमा पर्ने ससुराली पसिहालौं न त भनेजस्तै हो चिनियाँ प्रधानमन्त्रीको भ्रमण । उनी नेपाल नै आउन भनेर आएका होइनन् । अरु देश जाँदा यहाँ यसो पसे जस्तो मात्र गर्न लागेका हुन् । तर उनको यही पसाई र थोरैसमयको बसाई पनि महत्वपूर्ण हुने भएकाले सरकार र दलहरु अरु सबै कामधन्दा छाडेर उनको पछि लागेका हुन्

No comments:

Post a Comment